काठमाडौँ – बालाजु-रानीपौवा सडक खण्डको निर्माणलाई टुक्र्याएर ‘फास्ट ट्रयाक’मा नयाँ ठेक्का प्रक्रिया थालिने भएको छ । ७ महिनाभित्र काम सक्ने गरी ठेक्का आह्वान गर्ने तयारी भएको सडक विभागले जनाएको छ । उक्त खण्डको १७।१० किलोमिटर सडक स्तरोन्नतिका लागि आठ वर्षअघि भारतीय निर्माण कम्पनी एआईपीएलसँग शैलुङ कन्स्ट्रक्सनले संयुक्त ठेक्का लिए पनि काम हुन सकेको थिएन ।
शैलुङ कन्स्ट्रक्सन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको हो । ७ पटक म्याद थप्दा पनि ठेकेदारले काम नगरेपछि सडक सुधार तथा विकास आयोजना निर्देशनालयले गत असार ५ मा ठेक्का तोड्दै सार्वजनिक खरिद अनुगमन कार्यालयसमक्ष निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।
फोहोर बोक्ने ट्रक जान पनि समस्या भएपछि चाँडो निर्माण सक्नेगरी मुड्खु-तीनपिप्ले खण्डको ५/५ किलोमिटरमा नयाँ ठेक्का गर्न लागिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए ।
सोमबार बसेको मन्त्रिपरिषद्ले निर्माण कार्य तत्काल अगाडि बढाउन विशेष परिस्थितिमा बोलपत्र आह्वान गरी खरिद प्रक्रियामा लैजान सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।
त्यसका लागि ७ दिनको म्याद दिएर ठेक्का निकालिने छ । लागत रकम करिब १६ करोड रुपैयाँ अनुमान छ । जुन खण्ड नेपाल सरकारबाटै बनाइने छ । यसअघि सडक स्तरोन्नतिको काम सरकारले भारतीय एक्जिम बैङ्कबाट ऋण लिएर गरेको हो ।