काठमाडौं- तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका ३ वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ। साँझ करिब ५ बजे सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो।
रानाले होहल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर परियारलाई आक्रमण गरेको थियो। साँझ करिब ६ बजे घरको पिँढीमा खेलिरहेका उनलाई चितुवाले तानेर लगेको जानकारी पाएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताए।
परियारलाई लैजान थालेपछि उनकी आमा पनि चितुवाको पछिपछि कुदिन्। करिब ५० मिटर टाढा पुगेर छोरालाई खोसेर ल्याउन सफल भएको प्रत्यक्षदर्शी वासु पन्थले जानकारी दिए। घाइते परियारको बन्दीपुर गाउँपालिका–४ डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा प्राथमिक उपचार गरिएको थियो। उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए।
परियारको घाँटी तथा शरीरका अन्य भागमा घाउ भएको छ। केही महिनाअघि मात्रै बन्दीपुर–१ का ५ वर्षीय सुप्रिम बगालेको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो। उक्त घटनामा एक बालिकासहित दुईजना चितुवाको आक्रमणबाट घाइते भएका थिए।