धनगढी : अखिल क्रान्तिकारी विद्यार्थी संगठन सुदूरपश्चिम प्रदेश समितिको दोस्रो सम्मेलन कैलालीको अत्तरियामा हुने भएको छ। सम्मेलन यही भदौ २४ र २५ गते अत्तरियास्थित नमस्ते हलमा आयोजना हुनेछ।
ूसंविधान कार्यान्वयन र समाजवादी शिक्षाको पक्षमा हाम्रो आन्दोलन, सुदृढ समाज निर्माणका लागि दोस्रो प्रदेश सम्मेलनू मूल नाराका साथ अखिल क्रान्तिकारीले प्रदेशको दोस्रो सम्मेलन आयोजना गर्न लागेको हो।
आज (शनिबार) नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै संगठनले दोस्रो सम्मेलनबारे जानकारी दिएको हो। क्रान्तिकारीका सुदूरपश्चिम प्रदेश अध्यक्ष दीपक डिसीले दोस्रो सम्मेलनको तयारीस्वरूप विभिन्न उपसमिति समेत गठन गरिसकेको बताए।
दोस्रो सम्मेलनको लोगो समेत सार्वजनिक भइसकेको छ। दोस्रो सम्मेलनपछि ५१ देखि ९९ जनाको बीचमा प्रदेश कमिटी गठन गरिने बताइएको छ।
९ देखि १३ जना भित्रमा पदाधिकारी चयन गर्नुपर्ने निर्णय पनि अखिल क्रान्तिकारी सुदूरपश्चिमको बैठकले गरेको छ। सदस्य तथा पदाधिकारीमा ३५ प्रतिशत महिला अनिवार्य गरिएको छ।