काठमांडौ- दक्षिण एशिया क्षेत्र (South Asia Region) मा आगामी दिनमा देखापर्न सक्ने सम्भावित आर्थिक संकट र नेपालको वर्तमान आर्थिक अवस्थाको बारेमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । ।
संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक राजु अर्यालको समन्वय एवं समझदारी बमोजिम सुरक्षा सम्बन्धी महत्वपूर्ण एवं समसामयिक बिषयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका नीतिगत तहका प्रहरी अधिकृतहरुका लागि प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
संस्थागत सहकार्य प्रवर्धन गर्ने उद्देश्यले निरन्तर रुपमा सञ्चालन गरिने कार्यक्रम अनुसार आज राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा नेपालका अर्थशास्त्री एवं पूर्व राजदुत प्रा.डा. श्री विश्वम्भर प्याकुरेललाई प्रमुख वक्ताको रुपमा आमन्त्रण गरिएको थियो ।
नेपाल प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक र प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत दुबै सुरक्षा निकायका बरिष्ठ प्रहरी अधिकृतको उपस्थितिमा सञ्चालन भएको कार्यक्रबाट प्रहरी अधिकृतहरुलाई समसामायिक अर्थ व्यवस्था सम्बन्धमा अवधारणागत एवं नीतिगत स्पष्टता तथा व्यवसायिक ज्ञान अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा कार्यक्रम आयोजकले राखेको थियो ।
कार्यक्रमको अन्त्यमा कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्द राज आचार्यले प्रमुख वक्ता नेपालका अर्थशास्त्री एवं पूर्व राजदुत प्रा.डा. विश्वम्भर प्याकुरेल, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक लगायत उपस्थित सम्पुर्णमा हार्दिक धन्यवाद् ज्ञापन गरेका थिए ।