काठमाडौं । नेकपा एमालेबाट प्रदेश सभामा निर्वाचित भएर नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङले आफू पुनः एमालेमै फर्किने घोषणा गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सभामा विशेष समय माग गर्दै उनले सत्ता गठबन्धनले जनताको भावनाअनुसार काम नगर्न नसकेको भन्दै आफूले पुन एमाले रोज्न थालेको बताए । उनले आगामी दिनहरूमा संसदमा पनि जुन पार्टीको जुन चिन्हबाट निर्वाचित भएको त्यही हिसाबले प्रस्तुत हुने जानकारी दिए ।
‘अहिलेको गठबन्धनले जनताको पक्षमा काम गर्न सकेन’ मलाई प्रदेश सभाको अहिलेको रेकर्डमा जे भए पनि म सुरुमा निर्वाचित पार्टीको चिन्हकै हिसाबले प्रस्तुत हुनेछु’ उनले सभामुखलाई जानकारी गराए । तामाङ ०७४ सालको निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए । उनी त्यो बेला एमाले कञ्चनपुरका अध्यक्ष समेत थिए । एमाले विभाजन पछि उनले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।