धनगढी – भारतबाट अवैध रुपमा भित्राइएको भन्दै बरामद गरिएको ९ क्वीन्टल चिनी गायब पारिएपछि कैलाली प्रहरी विवादित बनेको छ ।
रातभर जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको चिनी बिहानपख नभेटिएको र भन्सारमा बुझाइएको रेकर्ड पनि नभएकाले कैलाली प्रहरी विवादमा तानिएको हो ।
भदौ ८ गते राति जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले तस्करीको चिनी भन्दै नियन्त्रणमा लिएको थियो। धनगढीको मुख्य बजार क्षेत्रबाटै अटोमा तस्करी हुन लागेको १८ कट्ठा अर्थात ९ क्विन्टल चिनी प्रहरीले नियन्त्रणमा लिएकोमा उक्त चिनी तस्करलाई फिर्ता गरेको आरोप कैलाली प्रहरीले खेपिरहेको छ ।
‘प्रहरीले नियन्त्रणमा लिएको चिनी र अटोलाई भन्सारमा बुझाउनु पर्ने हो,’ एक प्रहरी अधिकारीले भने, ‘तर तस्करीमा प्रयोग भएको अटो र चिनीलाई प्रहरीले सहजै छोडेको छ।’ धनगढीको बङ्ग्राकटान, गौरीकटान, जिल्ला कारागार पछाडि लगायतका स्थानबाट तस्करी हुँदा पनि प्रहरी आर्थिक लाभ लिएर चुप लागेको दाबी ती अधिकारीको छ ।
स्रोतकाअनुसार प्रहरीले बरामद गरेको चिनी भारतीय मूलका गुप्ता थरका एक जना व्यापारीको हो। सई नेतृत्वको टोलीले बरामद गरेको चिनी जिल्ला प्रहरी कार्यालयका एसपी सोमेन्द्रसिंह राठौरको निर्देशनमा उनै गुप्तालाई फिर्ता गरिएको स्रोतको दाबी छ ।
९ क्विन्टल चिनी रातारात गायब भएकोबारे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले बरामद गरिएको चिनीको सम्बन्धमा कैलालीका एसपी सोमेन्द्रसिंह राठौरसँग मौखिक जबाफ माग गरेका छन्। अवैध रुपमा ल्याउँदै गरेको चिनी बरामद गरेको भए भन्सार कार्यालयमा बुझाउनुपर्ने बताउँदै उनले त्यसो नगरिएको भेटिए दोषीमाथि कारबाही गरिने बताए।