काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले सुन तस्करसँग साठगाँठ गरेको आरोप लागेका गृहमन्त्रीका ‘पीएसओ’लाई एक नम्बर गणमा थुनामा राखेर अनुसन्धान सुरु गरेको छ ।
प्रहरी वरिष्ठ नायव निरीक्षक (सिनियर सई) टंक कार्कीलाई हेडक्वार्टरसँगैको एक नम्बर गणमा थुनेर अनुसन्धान थालिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए ।
यसअघि भदौ ७ गते प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै कार्कीबारे मिडियामा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको थियो।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले सई कार्कीबारे अनुसन्धान भइरहेको र दोषी देखिए कारबाही हुने बताएका थिए।
चितवन इच्छाकामना गाउँपालिकाका एक युवकलाई असार १६ मा गाडीसहित नियन्त्रणमा लिएर प्रहरीले गौशालाले वृत्त थुनेको थियो । तर, थुनामा रहेका व्यक्तिको गाडीमा रहेको ४ लाख रुपैयाँ उनै सई कार्कीले गायब बनाएको आरोप छ । थुनामा परेका व्यक्तिलाई सई कार्कीले धम्क्याएर रकम असुल्न खोजेको र निजकी आमालाई समेत विभिन्न त्रास देखाएको आरोप पनि छ ।
त्यसअघि दुबईबाट ५० ग्राम सुनसहित आएका ५ जना मानिसले सम्बन्धित व्यक्तिलाई सुन नदिएपछि सई कार्कीले सुन पठाउने मानिसको योजनाअनुसार सुन लिएका भनिएका ती व्यक्तिलाई नियन्त्रणमा लिएर असुलीको प्रपञ्च रचेको आरोप लागेको छ ।
मन्त्री खाणका पीएसओ रहेका वरिष्ठ सई कार्की मन्त्रीको अघि पछि हिँड्ने सुरक्षा समूहका सदस्य हुन् ।