काठमाडौं – काठमाडौं महानगरपालिकाले प्रदर्शनी मार्गमा रहेको काठमाडौँ फन पार्क प्रालिलाई कर तिर्न ताकेता गरेको छ । बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरञ्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो ।
तोकिएको अल्टिमेटम भित्र कर नतिरे फनपार्क सिलबन्दी गरी असुल उपर गरिने चेतावनी पनि महानगरले दिएको छ । महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीमार्फत गरिएको पत्राचारमा भनिएको छ, ‘व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्जन कर महानगरको राजस्व विभागमा २४ घण्टा भित्रै बक्यौता र जरिवाना रकम तिर्न जानकारी गराइन्छ ।’
समाजकल्याण परिषद्को स्वमित्वमा रहेको उक्त क्षेत्रमा काठमाडौं फनपार्क पार्क प्रालिले भाडामा भौतिक संरचनाहरू निर्माण गरेर खेल गतिविधि सञ्चालन गर्दै आएको छ ।
काठमाडौँ फनपार्क नेपाली काँग्रेसका नेता एवं पूर्वश्रमराज्य मन्त्री टेकबहादुर गुरुङको कम्पनी हो ।
समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्री न्यौपाने र टेकबहादुर गुरुङसहित १४ जनाविरुद्ध यस अघि भ्रष्टाचार मुद्दा समेत दायर गरेको थियो ।