काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैवाहिक अंगीकृत नागरिकताबारे आफ्नो पार्टी र राष्ट्रपति विद्यादेवी भण्डारीको समान धारणा रहेको बताएका छन् ।
बुधबार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मासहित शीतल निवास पुगेका अध्यक्ष प्रचण्डले राष्ट्रपति भण्डारीलाई सो कुरा बताएका हुन् ।
‘वैवाहिक अंगीकृत नागरिकताको बारेमा राष्ट्रपतिले राख्नु भएको चासो र हाम्रो धारण समान छ तर संसदमा यो विषयमा राष्ट्रिय सहमति बन्न सकेन त्यसकारण यो विषयमा विधेयकमा कुनै नयाँ व्यवस्था गरिएको छैन।’ प्रचण्डको भनाई उदृत बैठकमा संग्लन एक नेताले भने ।
यो विधेयक एमाले अध्यक्ष केपी शर्मा ओलीले पेश गरी राष्ट्रपतिद्वारा प्रमाणीकरण गरिएको अध्यादेशको व्यवस्थाअनुसार रहेको प्रचण्डको भनाई छ ।
जवाफमा राष्ट्रपति भण्डारीले आफूले विधेयक फिर्ता पठाउनुको कारण उल्लेख गरेर दलहरुले पुनर्विचार गर्ने अवसर खेर नफाल्न भनेकी छन्।