काठमाडौं: नेपाल प्रहरीको विवादित इन्सपेक्टर भनेर चिनिएकी बिनुकुमारी शाहीको प्रकरण अहिले छानबिनमै छ। ललितपुर प्रहरी परिसरले एक समिति नै बनाएर शाहीमाथि छानबिन गरिरहेको हो।
तर, छानबिनकै क्रममा शाहीले आफूमाथि हुनसक्ने कारबाहीलाई रोकाउन शक्तिकेन्द्र धाउन थालेकी छन्। उच्च स्रोतका अनुसार शाहीले गृहमन्त्री रमेश लेखकसहित उनकी पत्नी यसोदा लेखकलाई प्रभावमा पारिरहेको बताइएको छ। शाहीले लेखकद्वयलाई भेटेर कारबाही रोक्न लगाएको बुझिएको हो।
शाहीले निवासमै भेटेर यसोदामार्फत कारबाही रोक्न दबाब दिएको स्रोत बताउँछ। स्रोतका अनुसार शाहीले पछिल्लो समय पक्राउ परेर थुनामै बस्नुपर्ने अवस्था आउनसक्ने भन्दै गृहमा रोइकराई बढाएकी छन्।
उनलाई जोगाउन गृहमन्त्रीका पीए जनक भट्ट पनि सक्रिय रहेको बताइन्छ। यस अगाडि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर विदेशमा भएकाले यो प्रकरणको छानबिन र कारबाहीले सुस्तता पाएको थियो।
आईजीपी कुँवरले ब्रिफिङ लिएर यो प्रकरणमा संलग्न कसैलाई पनि नछाडिने बताएको महानिरीक्षकको सचिवालयका एक अधिकृतले बताए।
पहिल्यैदेखि विवादित इन्सपेक्टर शाही ललितपुरको भैंसेपाटीमा प्रहरी प्रभागको इन्चार्ज हुँदा पुनः विवादमा तानिएकी थिइन्।
भैंसेपाटी प्रभागभित्रै एक व्यवसायीलाई थुनामा राखेर ३० लाख असुलिएको घटनामा उनलाई जोडिएपछि जिम्मेवारीमुक्त गरिएको थियो। भने सो घटनामा प्रहरीले ३ जनालाई पक्राउ पनि गरेको छ। पक्राउ परेकामा इटहरीका भिमादेवी थापा, सुष्मा विक र ताज इस्लाम रहेका छन्।
बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रभागकी इन्सपेक्टर शाहीसँग मिलेर उनीहरुले एक व्यवसायीसँग ३० लाख असुली गरेका थिए। त्यसमध्ये २० लाख थापाको खातामा जम्मा गरिएको थियो भने १० लाख शाहीका आफन्तको खातामा गएको बताइएको थियो।
यो घटनामा इन्सपेक्टर शाहीमाथि समेत मुद्दा चल्ने बताइएको थियो। तर, एक सातासम्म उनको निलम्बनसमेत भएको छैन।
विवादित शाही गत जेठ २८ गतेदेखि ललितपुरको भैँसेपाटीस्थित प्रहरी प्रभागको जिम्मेवारीमा पुगेकी थिईन्।उसो त शाही विवादमा तानिएको यो पहिलो पटक भने होइन। २०७५ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरू गरेकी शाही विवादित अफिसर हुन्।
उनी पटकपटक विवादमा आइरहने पात्र हुन्। जानकारहरुका अनुसार उनको पहिलो पोस्टिङ सुदूरपश्चिमको कञ्चनपुरमा भएको थियो।
को हुन् ‘विवादित’ इन्सपेक्टर बिनुकुमारी ?
शाही उनै विवादित इन्सपेक्टर हुन्, जो यस अगाडि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत हुँदा कारबाहीमा समेत परेकी थिइन्। विभिन्न घटनाहरुमा उनलाई विभागीय कारबाही भएको थियो। पछिल्लोपटक उनी कञ्चनपुरमा हुँदा थुनुवामाथि ज्यादती गरेको लगायतका घटनामा विवादित बनेकी थिइन्। त्यसपछि तत्कालीन एसपी कमल थापासहित उनीमाथि विभागीय अनुसन्धानसमेत भएको थियो।
त्यस अगाडि कञ्चनपुरमै रिपोर्टिङका क्रममा पत्रकारहरुमाथि अप्रिय व्यवहार देखाएको भन्दै उनीसहित चार प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको थियो। गत वर्षको बैशाखमा महेन्द्रनगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडिओ खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
सोही घटनामा बिनुकुमारीलाई कारबाही गरिएको थियो। उनै शाहीको केही समय अगाडि कञ्चनपुरबाट प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग संघीय अपराध अनुसन्धान शाखा नक्साल काठमाडौंमा सरुवा भएको थियो। तर त्यहाँबाट पनि उनलाई ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीमा खटाइएको थियो।
सो प्रभागमा इन्सपेक्टरको दरबन्दी भने छैन। तर बजेट बिनाको सो प्रभागमा शाहीलाई कमाण्ड दिएर काजमा खटाइएको थियो।
र, यो पनि: विवादित इन्सपेक्टर प्रकरण: थप एक पक्राउ, ठेकदार शर्मालाई पनि सोही गिरोहले फसाएको खुलासा
एसपी थापाले बिगारेकी ‘बदनाम’ इन्सपेक्टर बिनुकुमारी
‘विवादित’ इन्स्पेक्टर बिनुकुमारीलाई निलम्बन गर्न सिफारिस
‘बदनाम’ इन्सपेक्टर बिनुकुमारीमाथि मुद्दाको तयारी, मोबाईल पनि नियन्त्रणमा