काठमाडौंः अपराध अनुसन्धानको महत्वपूर्ण जिम्मेवारी सम्हालेको नेपाल प्रहरी संगठन पछिल्लो समय केही बदनाम तथा गैरव्यवसायिक प्रहरीका कारण विवादको चपेटामा छन्। आम बुझाईका आधारमा सामान्यतयाः हत्या, हिंसा, बलात्कार, हनिट्रयापजस्ता अपराधमा नेपाल प्रहरीले संवेदनशील भएर अनुसन्धान गर्नुपर्ने हो। र, गर्दै आएको पनि दाबी गरिन्छ।
पीडकलाई सजाय दिलाउनु र पीडितलाई न्याय दिन पहल गर्नु पनि प्रहरीको कर्तव्य हो। तर, त्यहीँ प्रहरी संगठनभित्र केही प्रहरी अधिकृतहरु पछिल्लो समय उल्टै ब्ल्याकमेलिङ गरेर मुद्दा प्रभावित पार्ने गरेको कुरा सार्वजनिक भएका छन्।
यस्तै प्रकरणमा फसेकी छन्, प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाहीमाथि। गत जेठ २८ गतेदेखि ललितपुरको भैँसेपाटीस्थित प्रहरी प्रभागको जिम्मेवारी सम्हालेकी उनी अहिले निलम्बन सिफारिसमा परेकी छन्। हनिट्रयापको घटनामा संलग्न व्यक्तिसँग बार्गेनिङ गरेर ३० लाख रकम लिएको आरोप लागेपछि ललितपुर प्रहरी परिसरले उनलाई निलम्बन सिफारिस गरेको छ।
हिजोमात्रै शाहीको जिम्मेवारी खोसिएको हो भने उनलाई निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको बताइएको छ।
प्रभागमा परेको उजुरीलाई आधार बनाएर शाहीले आर्थिक अपचलन गरेकी हुन्। यसबारे छानविन गर्न डिएसपी नरहरी अधिकारीको संयोजकत्वमा छानबिन समिति बनाइएको छ।
शाहीसहितले हनिट्रयापको घटनामा संलग्न व्यक्तिलाई बलात्कारको मुद्दामा फसाइदिने भन्दै शुरुमा ब्ल्याकमेलिङ गरेको र पछि पैसा उठाएर पचाएको आरोप छ। उनका दुई जना आफन्तको बैंक खातामा आरोपित व्यक्तिले पैसा हालिदिएको प्रमाणसमेत भेटिएको बताइन्छ।
सोही क्रममा उनलाई मुद्दा नै चलाउने तयारीसमेत प्रहरीले गरेको छ। ललितपुर प्रहरीले शाहीको मोबाइल नियन्त्रणमा लिएको जनाएको छ। यहीँ घटना अनुसन्धानका क्रममा प्रहरीकै योजनामा ‘हनी ट्रयाप’मा पारेर रकम असुल्ने योजना भएको खुलेको हो। जसमा सामेल रहेकी एक युवती र उनका एक साथी प्रहरीको थुनामा पुगेका छन्।
उसो त शाही विवादमा तानिएको यो पहिलो पटक भने होइन। २०७५ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरू गरेकी शाही विवादित अफिसर हुन्। उनी पटकपटक विवादमा आइरहने पात्र हुन्।
जानकारहरुका अनुसार उनको पहिलो पोस्टिङ सुदूरपश्चिमको कञ्चनपुरमा भएको थियो। यस अगाडि कञ्चनपुरमा हुँदा उनले अनेक बखेडा र स्टन्ट गरिन्। त्यसबेला उनका हाकिम थिए, एसपी कमल थापा। थापा आफैं पनि विवादित अफिसर हुन्। उनीमाथि पनि गैरव्यवसायिक आचरणका आरोप लाग्दै आएका छन्।
उनै थापाले कञ्चनपुरमा हुँदा फ्रेस इन्सपेक्टर शाहीलाई मुद्दा शाखाको जिम्मेवारी सुम्पेका थिए। जबकी शाहीभन्दा अन्य २ सिनियर इन्सपेक्टर किनारामा पारिएका थिए। त्यसबेला थापाको एकदमै निकट रहेकी बिनुले चेन अफ कमाण्ड सिक्नै पाईनन्। उनले प्रहरी सेवालाई बुझ्नुपर्ने पहिलो पोस्टिङ नै मोजमस्तीमा बिताईन्। सोही समयबाटै बिनुको आचरण र व्यवसायिकमा ह्रास आएको देखिन्छ।
पहिल्यैदेखि उदण्ड स्वभावकी उनी अनेक विवादमा मुछिईन्। कञ्चनपुरमा हुँदा पनि उनी पत्रकार धरपकड प्रकरणदेखि थुनामै प्रहरीलाई ज्यादती गर्नेसम्मका घटनामा जोडिएकी थिइन् भने उनी र एसपी थापामाथि छानबिन पनि गरिएको थियो।
त्यसपछि शाही सरुवा भएर काठमाडौं गईन्। शाहीलाई त्यसबेला कञ्चनपुरबाट प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग संघीय अपराध अनुसन्धान शाखा नक्साल काठमाडौंमा सरुवा गरिएको थियो। तर पछि त्यहाँबाट पनि उनलाई ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीमा खटाइएको थियो।
प्रभागमा पुगेपछि पनि उनले आर्थिक अपचलनको काण्ड मच्चाएकी हुन्। अहिले पनि एसपी थापा निकट मानिने उनलाई जोगाउन थापाले अथक प्रयास गरिरहेको स्रोत बताउँछ। अख्तियारमा रहेका एसपी थापाले आफू अख्तियार मिलाउनेसम्मका दाबी गर्ने गरेका छन् भने बिनुलाई जोगाउन भनसुन समेत थालेको बताइएको छ।