काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र ठूलो दल बन्ने भएको छ। हाल प्रदेश सभामा ठूलो दल रहेको एकीकृत समाजवादीका दुई प्रदेश सभा सदस्य तारा लामा तामाङ र कुलवीर चौधरी एमाले प्रवेश गरेसँगै उनीहरू निलम्बनमा पर्ने छन्। त्यसका लागि नेकपा एसबाट एमालेमा गएका प्रदेश सभा सदस्य तारा लामा तामाङ र कुलवीर चौधरीलाई नेकपा एसको संसदीय दलले कारवाहीका लागि संसद सचिवालयमा पत्र पठाउनुपर्ने छ।
१४ प्रदेश सभा सदस्यसहित ठूलो पार्टी बनेको नेकपा एसका दुई सदस्य निलम्बनमा परेमा अब उसँग १२ प्रदेश सभा सदस्य मात्रै बाँकी रहनेछन्। नेकपा एसका प्रदेश सभा सदस्यको संख्या १२ मात्रै रहेपछि १३ प्रदेश सभा सदस्य रहेको माओवादी प्रदेशको ठूलो दल बन्ने भएको हो।
२०७४ मा सम्पन्न प्रदेश निर्वाचनमा १४ सांसद जितेको माओवादीबाट एकजना झपट बोहरा एमालेमा गएसँगै उसँग १३ जना मात्रै थिए। अब नेकपा एस दोस्रो ठूलो दल बन्ने छ। ११ प्रदेश सभा सदस्य रहेको नेपाली कांग्रेस तेस्रो र १० प्रदेश सभा सदस्य रहेको एमाले चौथो दल बनेका छन्। एक÷एकजना प्रदेश सभा सदस्यको जसपा र लोसपा चौथो दल बन्ने छन्।
५३ प्रदेश सदस्य रहेको प्रदेश सभामा थप दुईजना निलम्बन हुँदा ४७ सदस्य रहने छन्। हाल नेपाली कांग्रेसबाट डडेल्धुराका कर्ण मल्ल, माओवादीबाट अछामका झपट बोहरा निलम्बनमा परेका छन्।