बैतडी – महाकाली नदीमाथि झोलुंगे पुल निर्माणको माग गर्दै भारतको उत्तराखण्डका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।
मुख्यमन्त्री पुष्कर धामीलाई नेपाली नागरिकहरु देहरादुन पुगेर ज्ञापन पत्र बुझाएको देवताल–गणमेश्वर धाम झोलुंगे पुल संघर्ष समितिका संयोजक विरेन्द्र चन्दले बताए ।
महाकाली नदीमा झोलुंगे पुल नभएका कारणले नेपाल तथा भारतका नागरिकहरुले डुंगाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको बारेमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको देहरादुन पुगेका बैतडीका सन्तोष चन्दले बताए । महाकाली नदी सीमा नदी भएकाले भारतको सहमति बिना पुल बन्न सक्ने अवस्था नरहेकाले भारतीय सरकारको ध्यानाकर्षण गराएको चन्दले बताए ।
महाकाली नदीमा झोलुंगे पुल नहुँदा बैतडीको तल्लोसोराडमा आधा भन्दा बढी घाटहरुमा डुंगा मार्फत आवतजावत गर्ने गरिएको छ । बर्षातको समयमा डुंगाको यात्रा निकै जोखिमपूर्ण हुने भएकाले देवताल क्षेत्रमा झोलुंगे पुल निर्माणका लागि मुख्यमन्त्री धामीको ध्यानाकर्षण गराएको चन्दले बताए ।
देवताल धामको दर्शनका लागि श्रावणको महिना भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् । पुल नभएकै कारण कैैंयौ दर्शनार्थीहरु नेपाल पुग्न नसकेको बताइन्छ । यस्तै दैनिक उपभोग्य सामग्री लगायत औषधि उपचारका लागि नेपालीहरु पनि सीमावर्ती भारतीय क्षेत्रमा पुग्ने गरेका छन् । तर महाकालीमा पुल नभएका कारण धेरै समस्या भोग्नुपरेको चन्दले बताए ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री धामीले महाकाली नदीमा झोलुंगे निर्माणका लागि आवश्यक पहल गर्ने आश्वासन दिएको संघर्ष समिति संंयोजक चन्दले बताए । यसअघि भारतीय नागरिकहरुले पनि महाकाली नदीमा पुल निर्माणका लागि ज्ञापन पत्र बुझाएका थिए ।