काठमाडौं – नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) लाई पेट्रोलियम पदार्थ खरिद बापतको रकम समयमा नै भुक्तानी गर्न नसक्दा बक्यौता रकम बढ्दै छ ।
लामो समयदेखि पेट्रोलियम पदार्थमा भइरहेको नोक्सानीका कारण दैनिक बिक्रीबाट सङ्कलन हुने रकम आइओसीलाई भुक्तानी गर्दा पनि बुधबारसम्म करिब २१ अर्ब तिर्न बाँकी रहेको निगमले जनाएको छ । आइओसीको बक्यौता रकम भुक्तानी गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गर्नुपर्ने विषय निगमको लागि चुनौतिपूर्ण रहेको प्रवक्ता विनितमणि उपाध्यायको भनाइ छ ।
सञ्चित बचत सकिएपछि पेट्रोलियम पदार्थ खरिद गर्ने पैसा नहुँदा सरकारले गत असार अन्तिममा निगमलाई सात अर्ब ऋण उपलब्ध गराएको थियो । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन निगमले राष्ट्रिय वाणिज्य बैंकबाट समेत तीन अर्ब ऋण लिएको थियो । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थ केही समय घट्दो क्रममा रहेको भए पनि पछिल्लो १५ दिनमा पुनः मूल्य बढ्न थालेको छ । आइओसीबाट बिहीबार निगमलाई प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रति लिटर एक रुपैयाँ ३९ पैसा, डिजेलमा छ रुपैयाँ १२ पैसा र हवाई इन्धनमा आठ रुपैयाँ एक पैसाले बढेर आएको छ ।
मट्टितेल र खाना पकाउने एलपी ग्यासमा केही घटेर आएको निगमले जनाएको छ । एलपी ग्यासमा अझै प्रतिसिलिण्डर ३७८ रुपैयाँ सात पैसा तथा डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १८ पैसा घाटा छ । निगमलाई पेट्रोलमा दुई रुपैयाँ ८२ पैसा नाफा छ । एक महिनामा निगमको घाटा ६१ करोड हुने निगमको प्रक्षेपण छ।
डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको भने यथावत
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले बिहीबार भाउ बढाएर पठाएपछि निगमले पनि बढाउने निर्णय गरेको हो ।
नयाँ मूल्यसूची बिहीबार राति १२ बजेदेखि लागू भएको हो । नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटर १ सय ७८ र मट्टीतेल १ सय ७८ पर्नेछ ।
त्यस्तै, पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ । मूल्य समायोजनपश्चात् निगमलाई १५ दिनमा ३० करोड ५२ लाख नोक्सान हुने जनाएको छ ।