महेन्द्रनगर – सुदूरपश्चिममा प्रभाव राख्ने जिल्लामा डोटी पनि पर्छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला भएका कारण डडेल्धुराको चर्चा धेरै हुने भए पनि राजधानी र पहिलेको मुख्य प्रशासनिक केन्द्र भएका कारण डोटी पनि चर्चित ठाउँ हो ।
डोटीमा यसपटकको चुनावी भिडन्त रोचक हुने देखिएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, पूर्वमन्त्री प्रेम आले र वीरबहादुर बलायर यतिबेला टिकटको लागि रस्साकस्सी गरिरहेका छन् ।
भट्ट माओवादीबाट, आले नेकपा एकीकृत समाजवादी र बलायर कांग्रेसबाट लगभग एक्ला उम्मेदवार जस्तै हुन् । तर संयोग, तीनै जना हेवीवेट नेताहरु सत्ता गठबन्धनका हुन् । एउटै निर्वाचन क्षेत्र डोटीमा ती नेताको भिडन्तमा कसले बाजी मार्छ भन्ने चासो र चिन्ता अहिलेदेखि सुरु भइसकेको छ ।
समाजवादीबाट आलेको अराजक दाबी
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा वनमन्त्री भएपछि प्रेम आले चर्चामा आए । विगतका दिनमा डोटीबाट भएको काठ तस्करी अभियान सिंहदरबारमा वन संरक्षणमा पुगेपछि चर्चा हुनु स्वाभाविक नै थियो ।
त्यसमाथि आलेले अरु धेरै स्टन्ट पनि गरे । जसकारण उनको चर्चा काममा कम, मिडियामा धेरै हुन थाल्यो । राम्राभन्दा नराम्रा र आवश्यक भन्दा अनावश्यक काम र बोलीले उनको चर्चा बढेको थियो ।
‘रुखले कार्बनडाइअक्साइड फ्याक्छ’ भनेर चर्चामा आएका तत्कालीन मन्त्री आले पछि पर्यटनमन्त्री बन्दा झन् बढी चर्चामा आए । देउवा प्रधानमन्त्री भएका बेला ओली छाडेर एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीबाट आले पर्यटनमन्त्री बनेका थिए ।
त्यतिबेला उनले ओलीविरुद्धको भाषणदेखि नेपालमा सलमान खान ल्याउँछु भन्नेसम्मका अभिव्यक्तिले चर्चा कमाए । एक जना सुदूरपश्चिमकै युवासँग अश्लील फोन संवाद बाहिरिएपछि भने उनको थप आलोचना पनि सुरु भयो । त्यसपछि उनले पर्यटन बोर्डका सीइओ धनन्जय रेग्मीलाई ‘साढे’को संज्ञा दिएर झन् चर्चा पाए ।
यसरी चर्चा, विवाद र विरोधाभासमा रमाउने पूर्व मन्त्री आले यतिबेला डोटीबाट चुनाव लड्ने धाउन्नमा छन् । एमालेमा रहँदा शक्तिशाली मानिने आले अहिले समाजवादीबाट त्यति बलियो छैनन् । तर पनि उनी गठबन्धनबाट सुदूरपश्चिममा समाजवादीका लागि एक सिट जित्ने क्षमता राख्छन् ।
यसअघि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी पराजित भएका थिए । २०७० सालको दोस्रो संविधानसभा चुनावमा पनि आले पराजित भएका थिए । २०७४ सालको चुनावमा भने कांग्रेसका जिल्ला सभापति वीरबहादुर बलायरलाई हराउँदै आले सांसद र मन्त्री बन्न सफल भएका हुन् ।
बलायरलाई हराएका आले यसपटक देउवासँग कसरी ‘डिल’ गर्छन्, त्यसैमा उनको टिकट निर्भर छ । माधव नेपालबाट स्वतः अनुमोदन भएका उनी बलायरलाई पन्छाएर सांसद बन्न जति चुनौती छ, त्यो भन्दा बढी जोखिम पनि छ ।