काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई छायाँ सेन्टरस्थित भिसा सेन्टरमा लाइनमा बस्नुस् भन्दा पक्राउ परेका सुरक्षागार्डलाई हिरासतमा राख्न प्रहरीले ५ दिनको अनुमति पाएको छ ।
अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि सुरक्षागार्ड शेरजंग गुरुङलाई हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भरतबहादुर बोहोराका अनुसार यो अवधिमा शुक्रबार भएको भनिएको घटनाबारे विस्तृत अनुसन्धान हुनेछ ।
शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठ ठमेलस्थित छायाँ सेन्टरमा श्रीमती दलबल लिएर पुगेका थिए । एउटा कार्यक्रममा लागि मन्त्रालयका ६/७ जनासहितको टोली क्यान्डा जाने तयारीमा थियो । त्यही अनुसार श्रेष्ठ दम्पत्ति पनि त्यहाँ पुगेका थिए ।
‘गरुड सेक्यूरिटी’ अन्तर्गत कार्यरत सुरक्षागार्ड शेरजंग गुरुङले उनीहरुलाई लाइनमा आउन भनेका थिए । तर एकजना प्रत्यक्षदर्शीका अनुसार पर्यटनमन्त्री श्रेष्ठले आफू मन्त्री भएको बताउँदै अगाडि जान खोजेका थिए । सुरक्षागार्डले रोकेपछि त्यहाँ विवाद भएको थियो ।