विक्रम संवत् २०१९ सालतिरको कुरो हो । डा. सर्वपल्ली राधाकृष्णन् भारतमा उपराष्ट्रपति थिए । उनी नेपालको भ्रमणमा आउँदाको घटना हो — काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उनको औपचारिक स्वागतको कार्यक्रम सम्पन्न भएपछि उनलाई गाडीमा राखेर राजकीय अतिथिगृह त्रिपुरेश्वरतर्फ लगिंदै थियो । सिनामंगलमा आइपुगेपछि उनले गाडी रोक्न लगाए । गाडीबाट ओर्लेर उनी लुरुलुरु धु्रवस्थलिको थुम्कोतर्फ लागे । उनको स्वागत र सुरक्षामा खटिएका सबजना उनैको पछिपछि दुगुरे । डा.राधाकृष्णन् शिवपुरी बाबाको कुटीमा पुगे र बाबाको चरणमा लम्पसार परे । बाबाले उठाएर अँगालो हाल्नु भो । त्यहाँ उनले शिवपुरी बाबाबाट डेड घण्टाजति उपदेश र ज्ञानको श्रवण गरेपछि बिदा लिएर फर्किए । त्यसपछिमात्रै उनले आफ्ना भ्रमणका अरु सरकारी कामहरु सम्पन्न गरेका थिए ।
विक्रम संवत् २००६ साल असार महिनाको कुरो हो । ६१ वर्षका डा. राधाकृष्णन् बनारस हिन्दु विश्व विद्यालयको उपकुलपतिको पदबाट निवृत्त भएर आफ्नै स्वअध्ययनमा मग्न थिए । एकदिन अचानक उनलाई प्रधानमन्त्री नेहरुले राजदूत भएर कुनै देशमा जान आग्रह गरे । कम्युनिष्ट शासन भएको देश सोभियत संघमा गएर हिन्दु मान्यताहरुको प्रचार गर्न आवश्यक रहेको ठानेर उनले सोभीयत संघमा भारतको राजदूत भएर जाने इच्छा प्रकट गरे । नेहरु खुसी भए । तर त्यतिखेरका विदेश सचिव केपिएस मेननले ‘दर्शनशास्त्र पढेको मान्छेलाई राजदूत बनाएर पठाउँदा केही फाइदा हुन्न’ भनेर असहमति जनाएका थिए । अन्ततः नेहरुकै ढिपीले डा.राधाकृष्णन् राजदूत भएर मस्को गए ।
धेरै मान्छेले प्रजातान्त्रीक देश भारत स्वतन्त्र भएपछि अमेरिकाको गु्रपमा मिसिएला भन्ने सोचेका थिए तर भारत त कम्युनिष्ट देश सोभीयत संघको गु्रपमा मिसियो । भारतलाई अमेरिकासित भन्दा सोभीयत संघसित प्रगाढ मैत्री सहकार्य गर्दा बढी लाभ हुन्छ भनेर नेहरुलाई कन्भिन्स गर्ने राधाकृष्णन् नै थिए । भारतले आफ्नो सैन्य सामथ्र्यको विकास सोभीयत संघसंगको सहकार्यद्वारा नै प्राप्त गरेको हो । उनै राजदूत डा. राधाकृष्णनलाई ३ वर्षपछि स्वदेश बोलाएर उपराष्ट्रपति बनाइएको थियो । १० वर्षसम्म उपराष्ट्रपति रहेका डा. राधाकृष्णन् विक्रम संवत् २०१९ सालदेखि २०२४ सालसम्म भारतको राष्ट्रपति पनि रहेका थिए ।
भारतको राष्ट्रपनि भवनमा ३४० वटा कोठा छन् । राधाकृष्णन्ले भने आफ्नो व्यक्तिगत प्रयोजनको लागि एउटा कोठामात्रै प्रयोग गरेका थिए । त्यस कोठाको एउटा कुनामा उनका पुस्तक र अर्को कुनामा उनी सुत्ने पलङ् राखिएको थियो । पदीय रुपमा सरकारी कार्यक्रममा जाँदा उनले तडकभडक गर्नु परे पनि व्यक्तिगत जीवनमा उनी निकै सरल र सादा थिए । दक्षिण भारतको तिरुत्तनी भन्ने ठाउँमा तेलुगु भाषी नियोगी ब्राह्मण परिवारमा जन्मेका राधाकृष्णन् आफ्नो समयका दर्शनशास्त्रका मेधावी अध्यापक मानिन्थे । उनी सधैं दक्षिण भारतीय पोशाक धोती कमिज नै लगाउँथे । भारत स्वतन्त्र भएपछि लामो समय औपचारिक पोशाकको रुपमा घाँटी टिमिक्क पारेर लगाउने लामो मुसलमानी कोट र सिपिक्क परेको पंजाबी सुरुवाल वा धोती प्रयोग गरिन्थ्यो । राजदूत भएर मस्को जाँदा राधाकृष्णनसंग यस्तो पोशाक थिएन । नेहरुले उनलाई तीन वटा कोट र तीन ओटा सुरुवाल उपहार दिएका थिए रे ! राधाकृष्णनले त्यही पोशाकलाई लगभग १८ वर्षसम्म औपचारिक कार्यक्रममा जाँदा प्रयोग गरिरहे । उनले त्यो बेलाका कांग्रेसी नेताहरुले लगाउने सेतो रङको चूुच्चे टोपी भने कहिल्यै लगाएनन् । आफूलाई ठाउँठाउँमा सम्मान गर्दा दिइएका पगडीहरुलाई उनले पछि औपचारिक कार्यक्रममा जाँदा लगाइरहे ।
डा. राधाकृष्णन् स्वर्गे भएको पनि ४७ वर्ष भैसक्यो । आज उनको १४५ औं जयन्ती हो । उनको जयन्तीलाई भारतमा शिक्षक दिवसको रुपमा मनाइन्छ । अद्वैत वेदान्ती दर्शनका ज्ञाता प्रकाण्ड विद्वान डा. राधाकृष्णनमा भावपूर्ण श्रद्धान्जली ।
प्रस्तुत चित्र श्री ५ महेन्द्र र श्री ५ रत्न २०२२ सालमा भारतको भ्रमणमा जाँदा नयाँदिल्लीको पालम विमानस्थलमा मौसूफहरुको स्वागत गर्दै सेतो पगडी बाँधेका भारतीय राष्ट्रपति डा. राधाकृष्णन् । माझमा उभिएर हाँसिरहेका होचा व्यक्ति तत्कालीन भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्री हुन् । पछिल्तिर भारतका विदेशमन्त्री डा. सरदार स्वर्णसिंह र श्री ५ महेन्द्रको सवारीमन्त्रीको रुपमा खटिएका भारतका तत्कालीन परिवहन राज्यमन्त्री राजबहादुर पनि उभिएका देखिन्छन्।