दार्चुला – जिल्लामा हाल सम्म ७ हजार ६१७ हेक्टर क्षेत्रफलमा सिचाइ सुविधा पुगेको छ । कृषि ज्ञान केन्द्र दार्चुलाका अनुसार जिल्लाका दुई नगरपालिका तथा सात वटा गाउँपालिकाका विभिन्न क्षेत्रगरी जिल्लाभरी हाल सम्म उक्त हेक्टर क्षेत्रफलमा बाह्रैमास सिँचाइ सुविधा पुगेको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ ।
सिँचाई योजना अन्तरर्गत जिल्लाका ९ वटै स्थानीय तहका विभिन्न ठाउँमा एक वर्षको अवधिमा २७ वटा योजना मार्फत खेतियोग्य जमिनमा बाह्रैमास सिँचाइ सुविधा पु¥याइएको कृषि ज्ञानकेन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश कुमार पन्तले बताए ।
कार्यालयले गत वर्ष अन्य प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, बल्क विकास कार्यक्रम तथा मुख्यमन्त्री एकृकित कार्यक्रम, अन्तरर्गत जिल्लामा सिचाइ सुविधा पुगाएको उनले बताए । कार्यालयले गत वर्ष मात्रै ६० हेक्टर क्षेत्रफल जमिनमा सिचाइ सुविधा पुगाइएको जनाएको छ ।
जिल्लामा २ लाख ३२ हजार २ सय हेक्टर क्षेत्रफल जमिन रहेको भए पनि हाल २९ हजार ५ सय ४४ हेक्टर क्षेत्रफल अर्थात १२ दशमलव ७२ प्रतिशत जमिन मात्रै खेती योग्य रहेको छ। बाढी, पहिरो, भु–क्षय तथा विकास निर्माणका कामहरु लगायतका कारणले हरेक वर्ष जिल्लाको खेती योग्य जमिन घट्दै गइरहेको तथ्याङकले देखाएको छ ।
जिल्लामा अहिले २२ हजार हेक्टर क्षेत्रफलमा मात्रै खेती गर्ने गरिएको छ, भने कुल २४ प्रतिशत जमिनमा वर्षै भरी सिचाईको सुविधा रहेको छ । दार्चुलामा धान, गहु, मकै, जौं लगायतका अन्नबालीहरु उत्पादन हुने गरेका छन्। जिल्लामा वार्षिक ५ हजार १ सय ९६ दशमलब ७ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको कृषि ज्ञान केन्द्र दार्चुलाको तथ्याङ्कले देखाएको छ। खाद्यान्न अपुग हुनेमा सबै भन्दा बढि चामल रहेको पाइएको छ।