काठमाडौं – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सबभन्दा धेरै चुनाव जित्ने सीमित नेताहरुमा पर्छन् । २०४८ देखि डडेलधुराबाट निर्वाचन लड्दै आएका उनले ६ वटा चुनाव जितेका छन् ।
देउवाले हालसम्म लडेको चुनावमा सबभन्दा चुनौती खेपेको २०६४ को पहिलो संविधानसभामा हो । त्यो बेला देउवाले २० हजार ५२९ मत ल्याउँदा माओवादी केन्द्रका खगराज भट्टले १९ हजार १६१ मत पाएका थिए ।
२०७० र २०७४ को चुनावमा पनि देउवासँग प्रतिस्पर्धा गरेका भट्ट यो पटक देउवालाई समर्थन गर्न तयार छन् । त्यसको बदलामा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्ने सुनिश्चित गरेर डडेलधुराबाट प्रदेशसभा चुनाव लड्ने उनको शर्त छ । ‘मेरा केही सर्त छन्, त्यो छलफलमै छ,’ भट्टले अनलाइनखबरसँग भने, ‘कांग्रेस र गठबन्धनले के ‘रेस्पोन्स’ गर्छ, पार्टीले के प्रस्तावित गर्छ, हेर्नुपर्छ ।’
गठबन्धन नगर्ने कांग्रेस निर्णयले चुनौती
भट्टको शर्तबारे कांग्रेस केन्द्र बोलेको छैन, तर डडेलधुरा कार्यसमितिले गठबन्धन नगर्ने निर्णय गरेको छ ।
१७ भदौमा बसेको जिल्ला कार्य समितिको बैठकले चुनाव लड्न कांग्रेस एक्लै सक्षम रहेको भन्दै अरु पार्टीसँग गठबन्धन नगरेर मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको थियो । कांग्रेस जिल्ला सभापति भीमबहादुर साउद स्थानीय मनोविज्ञान अनुसारै निर्णय गरेको बताउँछन् । ‘एक्लै लड्नुपर्छ भन्ने सबैको आशयका कारण यो निर्णय गरिएको हो,’ उनले अनलाइनखबरसँग भने, ‘आम जनता र कांग्रेसका कार्यकर्ताको भावना अनुसार गरिएको निर्णय हो ।’
अघिल्लो पटक वाम गठबन्धन गर्दा पनि जनताले देउवालाई जिताएर पठाएको स्मरण गर्दै उनले भने, ‘यहाँ लामो समयसम्म कांग्रेसले एक्लै चुनाव लडेको छ । सारा शक्ति मिल्दा पनि केन्द्रीय सभापतिज्यूलाई जिताएको छ ।’
३० वैशाखको स्थानीय तह निर्वाचनमा पनि डडेलधुराका कांग्रेस र माओवादी एक्लाएक्लै लडेका थिए । नेपाली कांग्रेसले ५ र बाँकी २ को प्रमुख माओवादी केन्द्रले जितेको छ । स्थानीय चुनावमै पाएको वडागत मतका आधारमा यहाँ कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र नेकपा एमाले तेस्रो शक्ति हुन् ।
कांग्रेसको मत २१ हजार ७३५ छ भने माओवादीले त्यसको आधा अर्थात ११ हजार ३५४ मत पाएको छ । एमालेले १० हजार २२२ मत मतसहित तेस्रो स्थानमा छ ।
विगतका चुनावको परिणाम हेर्नुस्
चुनाव | शेरबहादुर देउवाले पाएको मत | निकटतम प्रतिद्वन्द्वीको मत |
२०४८ | १४,५७७ | ६,६२८ (गोविन्द कलौनी, एमाले) |
२०५१ | २०,७०१ | ९९६६ (खेमराज भट्ट मायालु, नेजवामो) |
२०५६ | २८,६५१ | ७,८४० (बागेश्वरी दत्त चटौत, एमाले) |
२०६४ | २०,५२९ | १९,१६१ (खगराज भट्ट, माओवादी केन्द्र) |
२०७० | २३,९२० | १२,३३२ (खगराज भट्ट, माओवादी केन्द्र) |
२०७४ | २८,०४४ | २१,९२९ (खगराज भट्ट, माओवादी केन्द्र) |
काउन्टर गठबन्धन
आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एकल प्रतिस्पर्धा गर्ने कांग्रेस जिल्ला कमिटीको निर्णयलाई माओवादी केन्द्रका नेताहरुले गम्भीर रुपमा लिएका छैनन् । देउवा आफैंले गठबन्धन चाहेकाले जिल्लाको निर्णयको अर्थ नहुने उनीहरुको बुझाइ छ । एक नेता भन्छन्, ‘देउवाले यसो गरौं भनेपछि सकिन्छ ।’
यद्यपि कांग्रेस डडेलधुरा गठबन्धनको विपक्षमा उभिए काउन्टर गठबन्धन बनाउने माओवादीको योजना छ । ‘कांग्रेस यो सोचमा नजाओस् कि गठबन्धन भनेको अरुलाई मात्रै आवश्यक हो,’ माओवादी केन्द्रका डडेलधुरा संयोजक उमेशप्रसाद भट्टले अनलाइनखबरसँग भने, ‘कांग्रेसलाई त्यस्तै लागेको हो भने एक्लै लड्न पनि म चुनौती दिन्छु । यो २०७४ साल होइन यो २०७९ साल हो । आफ्नो संगठनभित्रको विद्रोह र विघटनलाई कांग्रेसले हेर्न जरुरी छ ।’
कांग्रेस गम्भीर नभएको अवस्थामा एन्टी कांग्रेस गठबन्धन बनाउन आफूहरु तयार रहेको उनले बताए । ‘कांग्रेसले गठबन्धन गरेन भने कांग्रेस बाहेकका दलहरुको गठबन्धन बनाएर जान हामी लचक छौं,’ उनले भने, ‘डडेलधुराकै हकमा एमाले, एकीकृत समाजवादी र बीपी कांग्रेस सबै मिलाएर ‘एन्टी कांग्रेस’ गठबन्धन बनाउँछौं ।’
गठबन्धन नहुने स्थितिमा कांग्रेस बाहेकको गठबन्धन बनाउन आफूहरु पनि तयार रहेको एकीकृत समाजवादीका डडेलधुरा इन्चार्ज नरबहादुर विष्टले बताए । उनले अनलाइनखबरसित भने, ‘अहिले केही निर्णयमा पुगेका छैनौं, तर कांग्रेससँग गठबन्धन नहुने अवस्थामा ऊ बाहेकको गठबन्धन बनाउन पनि तयार छौं ।’