काठमाडौं: दार्चुला सदरमुकामनजिक महाकाली नगरपालिका-५ स्थित वीरेन्द्रवन नजिक नेपाल-भारत सीमा नदी महाकाली नदीवारि (नेपालतर्फ) आएको भारतीय स्काभेटर फिर्ता गरिएको छ। गृहमन्त्री रमेश लेखकको ठाडो आदेशमा चालक र स्काभेटर फिर्ता गरिएको बताइएको छ।
दार्चुलाका सिडिओ यज्ञराज जोशीले सो स्काभेटर फिर्ता गराइएको जानकारी दिए। उनका अनुसार सो स्काभेटरले नेपाली बाटो सजिलो भएकाले प्रयोग गरेको भनेपछि छोडिएको हो।
आइतबार बिहान साढे ११ बजेतिर अनुमतिबिना भारतीय ठेकेदार कम्पनीको स्काभेटर महाकाली नदी तरेर वारि आइपुगेको थियो।
अहिले नेपाल र भारतको पश्चिम सिमाना भएर बग्ने महाकाली नदीको धार परिवर्तनका लागि भारतले पुनः प्रयास गरिरहेको छ। दार्चुलाको सीमानामा रहेको साझा नदी महाकालीको नेपालतर्फ किनारमा अनुमति बिना भारतले जेसीबी चलाएकोमा स्थानीयले विरोध जनाएका थिए।
उनीहरुले जेसिबी मेसिन र चालकलाई नियन्त्रणमा लिएका थिए। तर गृहमन्त्रीको आदेशमा फिर्ता बुझाइएको हो।
भारतले एकपक्षीय ढंगले महाकालीको धार नेपालतर्फ फर्काउन थालेपछि दार्चुलाबासी विरोधमा उत्रेका छन्।
भारतले आफ्नोतर्फ पक्की तटबन्ध बनाउने र निर्माण सामग्री बालुवा,ढुंगा, गिटी नेपालतर्फ खन्ने गरेको छ। तर अन्तर्राष्ट्रिय सन्धि–सम्झौताबमोजिम सीमा नदीको बहावलाई असर पार्न कुनै पनि मुलुकले एकपक्षीय ढंगले भौतिक संरचना निर्माण गर्न पाईंदैन।
स्थानीय बासिन्दाका अनुसार भारतीय पक्षले सीमा क्षेत्रमा यस्ता गतिविधि विगतदेखि नै गर्दै आएको छ। स्थानीयले यस घटनालाई नेपालको सार्वभौमसत्तामाथिको अतिक्रमण भन्दै आक्रोश व्यक्त गरेका छन्। २०७० सालको बाढीको कटानपछि नेपाली भूभाग नदीपारि पुगेको छ।
र, यो पनि: भारतीय डोजर दार्चुला पसेपछि…