धनगढी: जिल्ला प्रहरी कार्यालयमा कार्यरत इन्स्पेक्टर दर्शन खड्कालाई पुरस्कार दिइएको छ। खड्कालाई विभागले अभिलेखमा जनिने गरी नगद पुरस्कारसहित सम्मानित गरेको हो।
केही समय अगाडिमात्रै उनलाई तोकिएको जिम्मेवारी पूर्ण, प्रशंसनीय एवं अनुकरणीय तवरले कार्यसम्पादन गरेको भन्दै पुरस्कार प्रदान गरिएको हो।

खड्का उनै इन्स्पेक्टर हुन्, जसलाई हालै धनगढी उपमहानगरपालिकाका मेयरसमेत रहेका गोपाल हमाल (गोपी)की छोरी आरजु हमालले दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। तर सो आरोपबारे कुनै सत्यता नभएको भन्दै प्रहरीले उल्टै पुरस्कार दिएको हो।
पत्रकारसमेत रहेकी हमालले उनीसहितका प्रहरीविरुद्ध उजुरी पनि दिएकी थिइन्।फागुन २५ गते आइतबार प्रधानमन्त्री केपी शर्मा ओली सहभागी रहेको कार्यक्रममा बाहिर कैलाली प्रहरीका मुद्दा शाखा इन्चार्जसमेत रहेका इन्स्पेक्टर खड्का लगायतले आफूमाथि दुर्ववहार गरेको हमालको आरोप थियो।
हमालले आफूलाई अस्वभाविक हिसाबले प्रहरीले विभिन्न अंगहरुमा छोएर अभद्र व्यवहार गरेको दाबी गरेकी थिइन्।