काठमाडौं: एक वरिष्ठ अधिवक्तामाथि ठगी र बैंकिङ कसूरमा मुद्दा दायर भएको छ।
बैतडी घर भई काठमाडौं महानगरपालिका–३२, कोटेश्वर बस्दै आएका वरिष्ठ अधिवक्ता त्रिलोकबहादुर चन्दविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। जबरजस्ती करणीको मुद्दामा मिलापत्र गराइदिन्छु भन्दै चन्दले गिरी थरका व्यक्तिबाट १४ लाख रुपैयाँ लिएको आरोप छ।
चन्दले विपक्षी वकिल र न्यायाधीशलाई पैसा खुवाउनुपर्छ भन्दै लाखौं रुपैयाँ लिएका थिए। तर, मुद्दा उल्टो बिगारेपछि पीडितले पैसा फिर्ताका लागि पटक–पटक दबाब दिएका थिए। यस क्रममा चन्दले गत असार २४ गते एनएमबी बैंक, पुतलीसडक शाखाको चेक दिए पनि सो चेक बाउन्स भएको थियो।
चेक बाउन्स भएपछि पीडितले चन्दविरुद्ध बैंकिङ कसूरमा मुद्दा दायर गरेका छन्। जिल्ला प्रहरी कार्यालय, पर्साले प्रमाण नष्ट हुन सक्ने भन्दै पक्राउ पुर्जीको अनुमति मागेको थियो। अदालतले कात्तिक २५ गते पक्राउ पुर्जी जारी गरे पनि चन्द हालसम्म पक्राउ परेका छैनन्।
अधिवक्ता चन्दको प्रमाणपत्र नम्बर ८८८७ रहेको छ। नेपाल बार काउन्सिलले यस विषयमा कानूनी प्रक्रिया अघि बढाउने वा नगर्नेबारे कुनै निर्णय नगरेको जानकारी आएको छ।
