काठमाडौं: काठमाडौंको तीनकुने घटनामा संलग्न मुख्य कमाण्डर दुर्गा प्रसाईंको पक्राउका लागि नेपाल प्रहरीले प्रयास जारी राखेको जानकारी महानिरीक्षक (आईजी) दिपक थापाले दिएका छन्।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा तीनकुने घटनाबारे ब्रिफिङ गर्दै आईजी थापाले राज्यविरुद्धको अपराधमा २० जना र आपराधिक उपद्रव अन्तर्गत ५८ जनालाई मुद्दा दर्ता गरिएको बताए।
समिति सभापति रामहरि खतिवडाले “कुल समातियो, मुल समातिएन?” भन्ने प्रश्नमा आईजी थापाले गृहमन्त्रीसँगको सहकार्यमा कानुनी प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिए। दुर्गा प्रसाईं पक्राउ नदिनका लागि योजनाबद्ध रूपमा भागेको र उनको खोजी जारी रहेको पनि बताए।
‘हामीले त्यही दिन रातभरी पनि टेक्निकल्ली र म्यानुअल्ली रातभर हेर्यौं। स्टेप बाइ स्टेप भागेको देखिन्छ। उहाँ (दुर्गा प्रसाईं) विरुद्ध पनि जाहेरी दर्ता भएर खोजी भइरहेको छ,’ आईजी थापाले भने।
आईजी थापाले घटनाको दिन रातभर प्रसाईंको खोजी गरिएको तर स्टेप बाइ स्टेप कदम चालेर उनी भाग्न सफल भएको बताएका छन्। पक्राउको समयबारे यकिन नभए पनि कानुनी प्रक्रियाअनुसार अघि बढाइने उनले स्पष्ट पारे।
‘कति दिनमा समात्न सकिन्छ भन्ने विषयमा जुन पक्राउ हुन्छ हामी समात्छौं । ल्याएपछि कानुनी दायरामा लैजान्छौं,’ थापाले भनेका छन् ।