कतिपय साइनोहरु जन्मजात स्वत बनेको हुन्छ अनि कतिपय सोचेर सम्झेर अनेकन हिसाब किताब गरेर बनाइन्छ त कतिपय यत्तिकै बन्न जान्छन् । अनि रोचक त के हुन्छ भने कतिपय यत्तिकै बनेका सम्बन्धहरु अरु दुईखाले सम्बन्धहरु भन्दा पनि प्रगाढ बन्छ । त्यसरी बनेको प्रगाढ सम्बन्धहरुमा एक अर्काको सुखमा खुशीमा अनि दु:खमा पनि अकल्पनीय हुँदो रहेछ भने वियोग त सहनै नसकिने । मेरो जीवनमा त्यस्तै अनायासै जोडिएका केही सम्बन्धहरु यति प्रगाढ भए कि त्यस्ता सम्बन्धहरु जीवनको अभिन्न अंग बनेका छन् । नेपाल प्रहरीका अवकाश प्राप्त अतिरिक्त महानिरिक्षक स्वर्गीय पंकज श्रेष्ठ दाईसंग मेरो त्यस्तै प्रगाढ सम्वन्ध बनेको थियो । आज यो लेख्दै गर्दा पंकज दाईले हामी सबैलाई छोडेर जानु भएको दु:खद सत्य स्विकार्न हामी बाध्य छौं । उहाँको दु:खद निधनको सत्य स्विकार्न बाध्य भैरहेको वर्तमानमा मलाई पनि उहाँ संगको विगत झलझली सम्झना आइरहेको छ ।
उहाँसंगका मेरा अनुभव र अनुभूतिको बारेमा लेख्ने मन केही दिनदेखि लाग्दै थियो तर शब्दहरु टाइप गर्न सकिरहेको थिइन । तर जव हिजो श्रद्धय रमा भाउजुले पंकज दाईको स्वास्थ्यमा समस्याहरु के कसरी आउन थाले भनेर ऐतिहासिक तथ्य सहितको स्मरण लेख्नु भएपछि मैले पनि प्रेरणा पाएँ र आज उहाँ संग जोडिएको मेरा सम्झनाहरु लेख्दै छु ।
आफ्नो मातृभुमिको आन्तरिक सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको नेपाल प्रहरी सवल , सुसज्जित र सुदृढ होस भन्ने चाहने व्यक्ति भएको हुनाले त्यस भित्र न्यायोचित वृति विकासदेखि उनीहरुको लागि श्रोत साधनको यथोचित व्यवस्थाको लागि पनि म एक आम मानिसको हिसावले आवाज उठाउँदै आएको छु । त्यसै हुनाले त्यस भित्र को को अधिकृतहरु राम्रा छन् अनि को को नराम्रो छन भन्ने हेक्का पनि राख्छु । जब राम्रो ( निष्ठा , इमान , योग्यता क्षमताको हिसाबले ) हरु सफल हुन्छन त्यसमा खुसि हुने अनि राम्राहरुलाइ अन्याय भयो भने त्यस विरुद्ध सशक्त आवाज उठाउने पनि मेरो परिचय बनेको छ । मेरो त्यही स्वभावले गर्दा हुने सम्पर्क सम्वन्ध र अध्यन अनुसन्धानले पंकज श्रेष्ठ नेपाल प्रहरीको एक असल , कुशल र लोकप्रिय अधिकृत रहेको निष्कर्षमा म पुगेको थिएँ । अनि जब योग्यता , क्षमता र निष्ठाको हिसावले अब्बल हुँदाहुँदै पनि सत्ता र शक्तिको निकट हुने कसरत नगर्दा उहाँलाइ डिआइजी बाट एआइजी हुँदा निक्कै पछि पारियो तब मैले त्यस विरुद्ध सशक्त आवाज उठाएँ । मैले आवाज उठाकैले उहाँको न्यायोचित बढुवा हुने त कुरै थिएन तर पनि त्यसले गर्दा वहाँको सम्मान योग्य व्यक्तित्वको बारेमा अझै धेरैले थाहा जरुर पाए । त्यसै समयमा मेरो वहाँ संग एक प्रहरी अधिकृतसंग जे जस्ता कुराकानी हुनुपर्थ्यो त्यो भएको पनि थियो । छोटो कुराकानीकै दौरान पनि वहाँको नम्रता , भद्रता र सरलता राम्रै संग महशुस गर्न सकिन्थ्यो । उहाँ जस्तो नम्र र भद्र प्रहरी पनि हाम्रो मातृभुमिको सुरक्षा फौजमा सेवारत रहेको सत्यको अनुभूतिले मात्रै पनि मनमा आनन्द दिन्थ्यो । संयोग भनौं वा मेरो सौभाग्य सामान्य वोलचालको केहि समय पछि नै उहाँ एउटा तालिममा अमेरिका आउने हुनु भएछ । वहाँले त्यसरी आउँदा भेटन सकिने जनाउ दिनुभयो, मैले पनि सहर्ष त्यसमा सहमति जनाएँ । त्यसमा अर्को संयोग पनि जोडिएको थियो त्यस भ्रमणमा उहाँसंगै मैले अत्यन्त श्रद्धा गर्ने अर्का प्रहरी अधिकृत डिआइजी गोविन्द निरौला पनि आउंदै हुनुहुन्थ्यो ।उहाँहरु दुवै जना परिवारसहित आउनु भएको थियो । आफ्नो व्यस्त समयबाट केहि दिन छुट्याएर अमेरिकाको न्युयोर्क आउनु भएको उहाँहरु संग मैले पनि समय निकालेर नै मज्जैले घुम्ने मौका मिलाएँ ।
काँधको फुली भन्दा मानिस को व्यवहार र व्यक्तित्व हेर्ने मेरा लागि उहाँहरुसंगको त्यो भेटघाट अविष्मरणीय भएको थियो । त्यही भ्रमणकै दौरान पंकज श्रेष्ठलाइ मेरो आदरणीय दाइ र रमा भाउजुलाइ आदरणीय भाउजुको रुपमा मानेको थिएँ । वहाँहरु संगै आउनु हुने आदरणीय गोविन्द निरौला र नानु आन्टी संग त मेरो पुरानै चिनजान र घनिष्ठता थियो नै । जे होस पंकज संगको त्यो छोटो बसाइ र भेटघाटले मलाइ विश्वासयोग्य अभिभावक दिलाएको थियो । अनि त्यसपछि त निरन्तर सम्पर्क हुन थाल्यो , दाइ अनि भाउजुको सदभाव माया र स्नेहले मलाइ थप मजबुत बनाउँदै लागेको थियो । अझै भाउजुले त क्रमश आमाकै शैलीले अभिभावकत्व दिंदै लानु भयो । बेला बेलामा सम्पर्क गरिरहने गर्थ्यौं । दाइको स्वास्थ्य अरुको जस्तो अनकुल छैन भन्ने थाहा हुनाले जहिले पनि म दाइको स्वास्थ्यको बारेमा सोधीरहन्थें । दाइ भाउजु कोरोना संक्रमित हुनुहुँदा मलाइ दाइको निक्कै चिन्ता लागेको थियो तर हामी सबैको सौभाय र वहाँको आत्मबलले वहाँले कोरोनालाइ जित्नु भयो । त्यसपछि भने लाग्थ्यो कि दाइलाइ अव कुनै रोगले केहि विगार्न सक्दैन । तर दुर्भाग्य कोरोनालाइ जितेको मेरो दाइले निमोनियालाइ जित्न सक्नु भएन । आज आएर थाहा भयो कि २०५३ सालमा डाक्टरहरुले प्रदर्शन गरेको नालायकीको कारण असफल भएको किडनी अप्रेसनको दुखद परिणतिको सिकार हुनु भएको रहेछ दाइ जसले वहाँलाइ कम्जोर तुल्याएछ जसले गर्दा वहाँले असामयिक मृत्युवरण गर्नु पर्यो । श्रद्धय दाइलाइ सम्झंदै गर्दा वहाँ प्रति भावपूर्ण श्रदान्जली अर्पण गर्दै गर्दा मेरो मनको कुनामा आफैं प्रति रहेको खेदपूर्ण भावना पनि मैले पोख्नै पर्छ । अक्सर म दाइ भाउजु संग सम्पर्कमै रहन्थें । भाउजुलाइ फोन गर्ने अनि त्यहीं बाट दाइको खवर लिने वा दाइ संग सम्पर्क गर्ने परम्परा थियो तर मेरो दुर्भाग्य जुन बेला दाइ विरामी हुनु भएको रहेछ त्यसै समयमा चाहिं मैले सम्पर्क गर्न सकिनछु । त्यति धेरै सम्मान गरेको , प्रिय मानेको मेरो अभिभावक पंकज दाई संग मैले सम्पर्क नै गर्न नपाउँदै उहाँ जानु होला भनेर पत्याउनै मलाइ गाह्रो भयो । जव त्यो दुखद खबर सुनें मैले पत्याउन नै सकिन जव कि खबर मेरो जीवनकै सवै भन्दा आदरणीय र विश्वासयोग्य व्यक्ति बाट आएको थियो । धेरै गाह्रो गरेर सत्यलाई स्वीकार गरेको त्यो दिन सम्झंदा अहिले पनि मनमा एउटा मात्रै सवाल आउँछ कि “ आखिर किन र कसरी हामी सबैलाई झुक्याउनु भयो पंकज दाई ?” र मलाई थाहा छ मेरो यो सवालको उत्तर आउने छैन । अलबिदा दाई , भावपूर्ण श्रद्धाञ्जली !