काठमाडौं- मंसिर ४ गते हुने निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे मोडालिटी तय गर्न बनेको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेतासहितको कार्यदलको बैठकमा संयोजक कृष्ण सिटौलाले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
कार्यदलले सिटबारे सहमति जुटेको क्षेत्र र नजुटेको क्षेत्रसमेत समेटेर प्रतिवेदन तयार गरी बुझाएको बताइएको छ । सो प्रतिवेदन शीर्ष नेतृत्वबाट थप अध्ययन गरेर सिट बागबण्डाबारे टुंगो लगाउने बताइएको छ । त्यसका लागि शुक्रबार पनि बैठक बोलाइएको कार्यदलका एक सदस्यले जानकारी दिए ।
बैठकपछि सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिवेदनमाथि छलफल जारी रहेको बताए । उनका अनुसार प्रतिवेदनउपर आज पनि शीर्ष नेतृत्वसँग लामो छलफल भएको छ भने यो क्रम शुक्रबार पनि जारी रहनेछ । बैठक दिउँसो ३ बजे बस्नेछ ।