काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैवाहिक अंगीकृत नागरिकताका विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो बोली फेरेकोप्रति आपत्ति जनाएका छन् ।
शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै महासचिव पोखरेलले वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षे प्रावधानको पक्षमा रहेका प्रचण्डले पार्टी परित्याग गर्ने बितिकै आफ्नो बोली पनि परिवर्तन गरेको बताए ।
‘प्रचण्ड स्वयं आफैंले नेकपाको समयमा के भन्नुभएको थियो भन्ने तपाईंहरुले सम्झिदिनुभयो भने …, उहाँले दृष्टिकोण किन बदल्नुभयो भन्ने कुराको रहस्य जनताका बीचमा आइदियो भने बडो राम्रो हुन्थ्यो’ पोखरेलले भने ।
उनले अघि भने, ‘उहाँले नेकपाको समयमा वैवाहिक अंगीकृतका हकमा भारतमा जे प्रोभिजन छ नेपालमा त्यही राख्नु उचित हुन्छ भनेर निर्देशन दिनुभयो, राज्य व्यवस्था समितिका सदस्यहरुलाई बोलाएर । आज यो दृष्टिकोणबाट उहाँ बाहिर किन जानुभयो ? यसको जवाफ उहाँ स्वयंले दिनुपर्ने हो ।’