काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले युवाको भावना समेट्नेगरी चुनावी घोषणा पत्र ल्याउने बताएका छन्।
कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा काठमाडौँको सुन्दरीजल पुगेर शर्माले पार्टीको घोषणा पत्रले युवाहरुलाई आगामी बाटो देखाउने दावी गरेका हुन्।
उनले भने, ‘युवाहरुलाई आगामी बाटो देखाउने गरी कांग्रेसले घोषणा पत्र ल्याउँछ। घोषणापत्रले निरन्तर नविनता ल्याउँछ।’
कांग्रेस घोषणा पत्र मस्यौदा समितिका संयोजक समेत रहेका शर्माले कतै नेपाल श्रीलंका त हुने होइन भन्ने भ्रमपूर्ण प्रचार भइरहेको भन्दै अहिले नेपालमा त्यस्तो अवस्था नरहेको स्पष्ट पारे।
उनले वीपी भनेको विचार र संस्कार भएको बताए। समाजलाई बुझ्ने क्रममा वीपीको दृष्टिकोण अहिले पनि जिवन्त रहेको उनको भनाइ छ। शर्माले जनताकाबीच आत्मआलोचना गर्दै विगतको गल्ती दोहरिन नदिनेगरी काम गर्ने बताए।