काठमाडौं – रात्रीकालीन व्यवसायीमाथि प्रहरीले ज्यादती गर्ने गरेको घटना सार्वजनिक भएको छ । चाडबाड नजिकिएसँगै बालाजु प्रहरी वृत्तले गस्तीको नाममा रात्रीकालीन व्यवसायीमाथि ज्यादती गर्न थालेको हो ।
केही समय अघिमात्रै जिल्ला प्रहरी कार्यालय चितवनबाट बालाजु प्रहरी वृत्त सरुवा भएर आएका डिएसपी रविन विष्टको कार्यशैलीको काराण रात्रीकालीन व्यवसायी हैरान भएका छन् । उनी राती विभिन्न डान्स क्लबहरुमा आफैं छिरेर ग्राहक र व्यवसायी तर्साउने गरेको एक व्यवसायीले बताए ।
‘डान्स क्लबहरुमा बाहिरको तुलनामा मादकपदार्थ केही महंगो हुन स्वभाविक छ । त्यसैको निहुँमा कोही ग्राहक व्यवसायीमाथि नै हातपात गर्न पुुग्छन्, कोही लुटिए भन्दै प्रहरीकोमा पुग्छन् । तर, प्रहरी सत्यतथ्य नबुझी व्यवसायीलाई पक्राउ गरेर मुद्दा चलाउने भन्दै धम्काउँछन्,’ एक व्यवसायीले भने ।
तर्साउने उदेश्यले केही क्लबका सबै कर्मचारीलाई राती पक्राउ गरेर विहान छोड्ने गरेको छ । मंगलबार मात्रैै माछापोखरीको हाई क्याफे डान्सबारका १३ जना स्टाफलाई राती पक्राउ गरेर बिहान छोडेको थियो ।
दुःख दिने नियतले बलाजुका प्रहरी प्रमुख डीएसपी रविन विष्टले पक्राउ गरेको व्यवसायी चन्द्र तामाङको भनाइ छ । ‘ तर्साउने उदेश्यले हाम्रो क्लबमा प्रहरी नियमित आउँछ । मंगलबार पनि त्यहीँ भएको हो । हाम्रो क्बलमा आएको एक ग्राहकको बिल ७ हजार पुगेको थियो । उसले ७ छैन भोली तिर्छु भन्दै सामान्य खालका २ वटा मोबाईल छोडेर गए । हामीले उनीहरुको नाम नम्बर सबै राखेका थियौं । हाम्रो नम्बर पनि दिएका थियौं । तर, प्रहरी आफैँले उनीहरु घर फर्किएको एक घण्टापछि ल्याएर हामीलाई पक्राउ गर्यो,’ तामाङले भने ।
त्यतिमात्रै नभएर बिहीबार आफ्नो क्बलको साथी पक्राउ परेकोबारे जानकारी लिन आफैँले वृत्तका डीएसपी विष्टलाई फोन गरेर गएका हिमाल तामाङलाई समेत गैरकानुनी तरिकाले हिरासतमा राखेको खुलेको छ ।
काठमाडौं प्रहरी परिसरका एसएसपी भरत बोहराको कमजोर कमाण्डको फाइदा उठाउँदै गलत रिपोर्टिङ गरेर उजुरी परेको भन्दै केही व्यवसायीलाई थुनामा राख्ने गरेको वृत्तकै एक प्रहरी अधिकारीले भने ।
‘हिमाल जी हामीले पनि चिन्छौं । उनी आफैंले फोन गरेर डीएसपी साबलाई भेटन् आउनु भएको थियो । उनीमाथि उजुरी थिएन । तर, अंगालो हालेर थुना कक्षामा राख्नु भयो । हामी नै अचम्ममा पर्यौं,’ ती प्रहरी अधिकारीले भने ।
गलत नियतका कारण उनले तामाङलाई थुनामा राखेका हुन् । कानुनत: जघन्य अपराध बाहेक प्रहरीले उजुरीकै भरमा अदालतबाट पक्राउ पुर्जी नलिइ कसैलाई पक्राउ गर्न मिल्दैन । तर, डीएसपी विष्टले भने पक्राउ अनुमति बिनै भेट्न गएका व्यक्तिलाई अवैध तरिकाले थुनामा राखेका हुन् ।
विष्टले हिमाललाई बढी विल उठाएको अभियोगमा भेट्न आउँदा थुनामा पठाएको स्वीकार गरे ।
३ जना ग्राहकको एउटा घडी लुटेकाे र ८ हजार बढी विल बनाएको उजुरी परेपछि रेस्टुरेन्टका १३ जना कर्मचारीलाई पक्राउ गरी र्को दिन १२ जनालाई छोडेर एक जनालाई मात्रै हिरासतमा राखेको उनले जानकारी दिए । अहिले २ जना हिरासतमा छन् एक जनाको खोजी भइरहेकाे उनले जानकारी दिए ।