दार्चुला – दार्चुलामा हिजो राती पनि वर्षा भएपछि कटान रोकिएको छैन् । महाकाली नदीको वहाव नेपालतर्फ आएको र लास्कु खोलामा पनि बाढी आउने क्रम नरोकिएकोले बंगाबगड क्षेत्रमा फेरी कटान सुरु गरेको छ ।
बंगाबगडका केही घरहरु जोखिममा रहेकाले बंगाबगड क्षेत्रमा अहिले अस्थाई तारजाली लगाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एबं प्रहरी निरीक्षक जगत मगरले जानकारी दिनुभयो । कटान रोक्नका लागि अस्थाई तटबन्धको काम भइरहेको उहाँले बताउनु भयो ।
लास्कुखोलामा नेपाली सेनाले अस्थाई काठेपूल लगाउने जिम्मा पाएको गुरुगोरख गुल्म दार्चुलाले जनाएको छ । आज नै उक्त क्षेत्रमा काठेपुल संञ्चालन गरिने सेनाले जनाएको छ । नदीको वहाव नेपालतर्फ भएकोले दार्चुला सदरमुकाम खलंगा बजार अहिले जोखिममा परेको छ ।
दार्चुलामा शुक्रबार रातीको अबिरल वर्षापछि आएको बाढी पहिरोमा परि पाँच जनाको मृत्यु भएको छ । थप १० जना अझै बेपत्ता रहेका छन् । बेपत्ता भएकाहरुको खोजि कार्यभइरहको प्रहरीले जनाएको छ ।
महाकाली किनारतिरका सबै युनिटहरुलाई खोजि गर्न निर्देशन दिएको प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एबं प्रहरी निरीक्षक मगरले जानकारी दिनु भएको छ । महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा बाढी र पहिरोका कारण ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बाढी पहिरोले दुई वटै स्थानीय तहका ६० घरपरिवार विस्थापित भएको जानकारी दिए । उनका अनुसार कुल ९१ घरमा क्षति भए पनि ४२ घर भने पूर्ण रुपले क्षतिग्रस्त भएका छन् ।
९ घरमा आशिंक क्षति र ४० घर उच्च जोखिममा परेका छन् । पूर्ण, आंशिक र जोखिममा समेत गरेर महाकाली नगरपालिकामा ६२ र नौगाड गाउँपालिकामा २९ घर रहेका छन् ।बाढीपहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ भने १० जना अझै बेपत्ता छन् । पहिरोबाट घाइते ८ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक मगरले बताए ।
उनका अनुसार नौगाड गाउँपालिका–२ कि १५ वर्षीया धनुली ठगुन्ना, ३२ वर्षीया जानकी ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्की, महाकाली नगरपालिका–१ सल्ला बस्ने ४३ वर्षीया मानमती कार्की र २ बस्ने ७७ वर्षीय नन्दराम बोहराको पहिरोमा पुरिएर मृत्यु भएको हो ।उनीहरुमध्ये चार जना घरमाथिबाट आएको पहिरोमा पुरिएको अवस्थामा मृत भेटिएका हुन् भने मानमती कार्की भने महाकाली नदीले बगाएको अवस्थामा भेटिएकी हुन् । दुई पालिकामा गरी चार पुरुष र ६ महिला गरेर १० जना बेपत्ता छन् । उनीहरुको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएको छ ।