काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा दिनभरजसो गाडीको आवागमन प्रभावित हुने भएको छ । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज उच्चस्तरिय राजनीतिक भेटघाट गर्ने भएकाले उहाँको ओहोरदोहोरका क्रममा गाडीको आवागमन प्रभावित हुने भएको हो ।
बिहान पौने ९ बजे रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँ बानेश्वरदेखि तीनकुने आसपासका क्षेत्रमा गाडीको आवागमन प्रभावित भएको थियो । ट्राफिक प्रहरीले भने विशेष कारणवश गाडीको आवागमन प्रभावित भएको जनाएको छ ।
लीले अहिले नयाँ बानेश्वरमा रहेको सङ्घीय संसदमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सेनासँग भेटवार्ता गर्दै हुनुहुन्छ । यस्तै, उहाँले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई पनि सङ्घीय संसद् भवनमै भेट्ने तयारी छ ।
भेटवार्तापछि उहाँ फर्कने समय बिहान साढे ११ बजेको आसपासमा तीनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल र रविभवनसम्म गाडीको आवागमन प्रभावित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । त्यसैगरी दिउँसो साढे ३ बजे रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली , माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा गाडीको आवागमन प्रभावित हुने भएको छ ।
यो समयमा उहाँले प्रभानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता गर्नुहुनेछ । भेटपछि उहाँ सोल्टी होटल नै फर्किनु हुनेछ । उहाँ फर्किने दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि गाडीको आवागमन प्रभावित हुनेछ । यो समयमा वैकल्पिक मार्ग प्रयोग गर्न काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।