काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान सरकार आम नेपालीहरुको जीवन रक्षाका लागि प्रतिवद्ध रहेको बताएका छन् । आईतवार काठमाडौंमा आयोजित आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले हरेकको जन्म राम्रा कामका लागि हुने भन्दै आत्महत्याको बाटो कसैले रोज्नु नहुने बताए । उनले नेपाल प्रहरीले पनि आम नागरिकको जनधनको रक्षाका लागि र शान्ति सुरक्षाको लागि प्रतिवद्धतापूर्वक काम गर्नुपर्ने उल्लेख गरे । गृहमन्त्री खाणले हरेक मानिसले सबैभन्दा पहिला आफ्नो जीवन र समाजको रक्षा गर्न सक्नुपर्ने बताए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपालमा आत्महत्या सम्बन्धीत तथ्यांक दिन प्रतिदिन बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले आर्थिक वर्ष २०७७/७८ मा कोभिडको बेलामा ९ हजार ४ सय ९ जनालाई कोभिडका कारणले गुमाएको र सोही अवधिमा ७ हजार १ सय ४१ जनाले आत्महत्या गरेको तथ्यांक बाहिरिएको बताए । उनले कोरानाले आक्रान्त बनाएको बेलामा कोभिडका कारण भन्दापनि आत्महत्याका कारण ज्यान गुमाउनेको संख्या धेरै भएको बताए ।
कार्यक्रममा महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपालमा आत्महत्या गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै समस्या समाधानको पहिचान गर्न आवश्यक रहेको बताए । उनले समाजका घटनालाई नजिकबाट नियाल्न र समाजमा फैलिरहेका विकृति, विसंगतितर्फ राज्यको ध्यान जान आवश्यक भएको बताए ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले जीवनमा जित नभइ हार्न सक्नुपर्ने बताए । उनले हरेक हारबाट धेरै अनुभव लिन सकिने भन्दै हारलाई स्वीकारेर अघि बढ्नु नै जीवन रहेको बताएका हुन् ।
त्यस्तै, कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले अहिले युवा पुस्ताले सबैभन्दा धेरै आत्महत्या गरिरहेको बताईन् । उनले सामाजिक सञ्जाललाई सही प्रयोग गर्न नसक्दा पनि कतिपय आत्महत्याका घटना हुने गरेको भन्दै यसतर्फ सबै सचेत हुन जरुरी रहेको बताईन् ।
आज देशभरका ७७ वटा जिल्लामा नै आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम हुँदैछ । काठमाडौंमा आज बिहान सचेतनामुलक प्रभातफेरी कार्यक्रमसमेत भएको थियो ।