धनगढी – कञ्चनपुरमा सडेको अवस्थामा तीन जनाको शव भेटिएको छ ।
दुई वटा शव कंकाल भइसकेको अवस्थामा भेटिएको हो भने एउटा शव महिलाको रहेको भनेर पहिचान गरिएको छ ।
लालझाडी गाउँपालिका-१ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका-१० को दोदा नदी नजिकै अर्का एक जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख, प्रहरी निरीक्षक (इन्सपेक्टर) नरेशराज मल्लले जानकारी दिए । आइतबार साँझ तीन जनाको शव भेटिएको बताउँदै सडेको अवस्थामा भएकाले पहिचान गर्न समस्या भएको उनले बताए ।
‘दुई वटा शव कंकाल भइसकेको अवस्थामा भेटिएका छन्’ प्रहरी निरीक्षक मल्लले भने, ‘अर्को चुरा र लुगाको आधारमा महिलाको भए पनि पहिचान गर्न सकिएको छैन ।’
आँखाले हेरेर शवको पहिचान गर्न नसकिएपछि प्रहरीले डीएनए संकलनको तयारी गरेको छ ।
Facebook Comments Box