दार्चुला – नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माणको शिलान्यास गरिएको छ । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको मल्ला छारछुम जोड्ने गरी सोमबार महाकाली नदीमाथि पुलको शिलान्यास गरिएको हो ।
नेपालतर्फ उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री (सीएम) पुष्करसिंह धामीले पुलको शिलान्यास गरेका हुन । नेपालतर्फ पुलको शिलान्यास गर्नुहुदै मन्त्री बडूले सुदूरपहाडमा पहिलोपटक नेपाल–भारत जोड्ने मोटर पुल बन्न लागेको बताउनुभयो । यसअघि कञ्चनपुर, कैलालीमा पुल भएपनि पहाडी जिल्लामा दुई देश जोड्ने पक्की पुल बनेको थिएन । मन्त्री बडूले भन्नुभयो, दार्चुलामा पुल बनेसंगै सुदूरपहाडको समृद्धिको ढोका खुल्छ । दार्चुला त्रिदेशीय सीमा जोडिएको जिल्ला पनि भएकोले त्रिदेशीय (नेपाल–भारत–चीन) व्यापारको समेत ढोका खुल्ने उहाँको भनाइ छ । पुल निर्माण सम्पन्न भइसकेपछि सरकारी र नागरिक स्तरमा दुई देशको सम्बन्ध मजबुत हुनुका साथै दार्चुलाको स्थानीय कृषि उत्पादन, जडिबुटी, धातु र कच्चापदार्थको अन्तर्राष्ट्रिय व्यापारमा समेत सहज हुने उहाँले बताउनुभयो ।२०४८ सालदेखिनै पुल बनाउने चाहाना र पहल भएपनि अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा एमओयुमा हस्ताक्षर भएर प्रकृया अगाडि बढेको मन्त्री बडूले बताउनुभयो । यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई बलियो बनाउन तथा दुवैतर्फको समुदायबीच रहेको सम्बन्ध र सम्पर्कलाई थप मजबुत बनाउन भूमिका खेल्ने उहाँले बताउनु भयो ।
महाकालीमा मोटरपुल निर्माण भएपछि दार्चुला, बैतडी, बझाङ लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका साथै भारत र चीनसम्मको व्यापार दार्चुलाको नाकाबाट हुने मन्त्री बडूको भनाई छ ।
मोटर पुल भए सहज रुपमा त्यहाँ गएर उपचार गर्न सम्भव हुन्थ्यो । त्यसैगरी दुबै देशको आर्थिक, सामाजिक, धार्मिक सम्बन्ध मजबुत बनाउन समेत पुल महत्तपूर्ण हुने उहाँको भनाई छ । पुल बन्ने चर्चा चलेको वर्षौँ भईसक्यो, स्थानीय भुवन जोशीले भन्नुभयो, अहिले शिलान्यास भएकोले छिट्टै पुल निर्माण सम्पन्न हुने आशा पलाएको छ । पुल छिटो निर्माण गरिदिन स्थानीयले अनुरोध गरेका छन् । मोटरेबल पुल निर्माण भए आउजाउमा सजिलो हुनाका साथै सडक यातायात र मालसामान ढुवानीमा पनि सहज हुने स्थानीयहरूको प्रतिक्रिया छ ।
भारत सरकारको लगानीमा निर्माण हुने पुल शिलान्यास कार्यक्रममा भारतीय राजदुतावासका प्रतिनिधि, नेपालस्थित भारतीय दूतावासका डीसीएम प्रशान्त श्रीस्ताव, उद्योग मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीलगायतहरूको उपस्थिति रहेको थियो । लगायत जिल्ला समन्वय समिति प्रमुख महादेब बडू महाकाली नगरपालिाकका नगर प्रमुख नर सिह चैसिर,उप प्रमुख दुगाए कुमारी खत्री विष्ट, लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशी, मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामी नौगाड गाउँपालिका उपाध्यक्ष जगत सिह ठगुन्ना, दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, चार वटै सुरक्षा निकायका प्रमुख एवम कर्मचारी र स्थानीयको सहभागीता रहेको थियो । पुल शिलान्यास कार्यक्रमको अवसरमा महाकाली नदीको समेत पुजा गरिएको छ ।