धनगढी – कैलालीमा एक युवक मृत फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१२ को शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेटिएको प्रहरीले जनाएको छ।
बडेला बुधबार बिहान आफ्नै घरको आगनमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।
उनको टाउको र खुट्टामा चोट देखिएपछि हत्या आशंका गरिएको छ। घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ।
यस्तै कैलालीकै धनगढीमा एक जना मृत अवस्थामा भेटिएका छन्। कैलाली कारागार पछाडि कञ्चनपुरको कृष्णनगरपालिका ८ का ७४ वर्षीय धनसिंह जेठारा मृत भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जोशीले छोरीको घर आएका उनी मंगलबार साँझ बाहिर निस्किएका थिए। अबेरसम्म नफर्किएपछि खोजी गर्दै जादा बुधबार बिहान मृत भेटिएको जोशीले बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।