कञ्चनपुर – महाकालीपारिको गाउँ भनेर चिनिने कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विकास निर्माणले गति लिएको छ।
कुनै बेला टुकी बालेर जङ्गली जनावर र बाढीको त्रासमा रहेका यहाँका बासिन्दाले स्थानीयतह आएपछि यहाँ सरकार भएको महसुस गर्न पाएको बताउँछन्। विसं २०२१ देखि दोधारा चाँदनीमा बस्दै आएका ७० वर्षीय धीरबहादुर कठायतले विगतको तुलनामा अहिले धेरै विकास भएको बताए। ‘उतिबेला न बिजुली थियो, न सडक नै महेन्द्रनगर जान पनि भारतको बाटो शारदा ब्यारेज भएर जानुपथ्र्यो’, उनले विगत सम्झिँदै भने, ‘बर्खामा बाढी, जङ्गली जनावर तथा कतिपय अवस्थामा डाकाहरू लुटपाट गर्न आउँने डर हुन्थ्यो।’
उनले २०७४ को निर्वाचनपछि मात्रै दोधारा चाँदनीले बिजुली बत्ती देख्न पाएको बताए। ‘यहाँका बडुवाल टोल र कुतियाकवर अन्धकारमा थिए’, उनले भने, ‘अहिले सबै बस्तीमा बिजुली पुगेको छ, सडकले छोएको छ।’ कञ्चनपुरको दोधारा चाँदनीलाई महेन्द्रनगर सदरमुकासँग जोड्न विसं २०६१ मा महाकाली नदीमा झोलुङ्गे पुल बनेपछि मात्रै दोधारा चाँदनी नेपालसँग जोडिएको हो।
त्यसअघि दोधारा चाँदनी पुग्न भारतको बाटो भएर महेन्द्रनगर आउनुपर्र्ने बाध्यता रहेको थियो। दोधारा चाँदनी–३ बडुवाल टोलका मनि क्षेत्रीले पहिलाको तुलनामा अहिले धेरै सहज भएको बताए।’पहिला गाउँमा हात्ती पस्थे, भागौं भनेपनि उज्यालो थिएन’, उनले भने, ‘अहिले बिजुली बत्ती र सडक पुगेको छ यसले धेरै सहज भएको छ।’
विसं २०२३ देखि यहाँ बसोबास गरिरहेका उनले स्थानीय सरकार आएपछि जोगबुढा नदीमा बनेको तटबन्धले बाढीको त्रास हटेको बताए। ‘पहिले त यहाँ नेपाली पैसासमेत चल्दैन थियो कारोबार भारतीय पैसामा हुन्थ्यो’, उनले भने, ‘किनमेल औषधोपचार सबै भारतबाट हुने गथ्र्यो।’
दोधारा चाँदनी नगरपालिका–४ का सदस्य गगनबहादुर सिंहले स्थानीय सरकार गठन भएपछि दोधारा चाँदनीमा विकासले फड्को मारेको बताए। ‘विगतको तुलनामा दोधारा चाँदनीमा धेरै विकास भएको छ सडक,बिजुलीबत्तीलगायतका सुविधा स्थानीय सरकार आएपछि बनेका हुन्’, उनले भने, ‘दोधारा चाँदनीमा बन्ने भनेको सुक्खा बन्दरगाह बने यहाँको कायापलट हुन्छ।’
महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आएपछि दोधारा चाँदनीको मुहार फेरिएको छ। पुलले यहाँका बासिन्दालाई भारतीय बाटो भएर महेन्द्रनगर आउनुपर्ने बाध्यता हटेको छ भने यहाँको व्यापार व्यवसायसमेत फष्टाएको स्थानीय बताउँछन्।
दोधारा चाँदनी नगरपालिका–३ का अध्यक्ष हरिसिंह धनाडीले महाकाली नदीमा बनेको मोटरेबल पुलले दोधाराको मुहार नै परिवर्तन गरिदिएको बताए। ‘हामीलाई सर–सामान ल्याउन धेरै समस्या हुन्थ्यो शारदा ब्यारेजमा भारतीयले गेट नखोल्ने, घण्टौँ कुर्नुपर्ने बाध्यता थियो’, उनले भने, ‘महाकाली नदीमा बनेको पुलले दोधारावासीका सुखका दिन आएका छन्।’
दोधारा चाँदनी नगरपालिकाले पनि पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ। नगरपालिकाले सबै वडालाई सडक सञ्जालले जोडेको छ। गत आर्थिक वर्षमा नगरपालिकाले दुई हजार दुई सय ९१ मिटर सडक कालोपत्रे गरेको छ भने नौ हजार चार सय ४० मिटर सडक ग्राभेल गरेको छ। नगरप्रमुख किशोर लिम्बूले पूर्वाधार विकासलाई नगरपालिकाले मुख्य प्राथमिकतामा राखेको बताए। ‘सडक, शिक्षा स्वास्थ्य र कृषि नै हाम्रो प्रमुख प्राथमीकतामा छ’, उनले भने, ‘अहिले नयाँ बाटा खोल्ने र सडक कालोपत्र गर्ने काम भइरहेका छन्।’ उनले नगरपालिकाकालाई समृद्ध नगर बनाउन आफू प्रतिबद्ध भएर काम गरिरहेको बताए।
‘नगरपालिकाको आन्तरिक आम्दानी न्यून छ, यहाँको बजेटले मात्रै यहाँको विकासका लागि पुग्दैन’, उनले भने, ‘प्रदेश र केन्द्र सरकारले पनि सहयोग गरेमात्रै यहाँको विकास गर्न सहज हुन्छ।’ उनले केन्द्र सरकार र प्रदेश सरकारसँग बजेट माग गरेको बताए।
कुल क्षेत्रफल ५६.८ वर्गकिलोमिटर फैलिएको यो नगरपालिकालाई टापुको बस्ती भनेर पनि चिनिन्छ। तीनतर्फ जोगबुढा नदी र एकातर्फ महाकाली नदीले घेरेको यो नगरपालिका भारतको उत्तराखण्ड र उत्तरप्रदेशसँग सीमा जोडिएको छ। यहाँ मुख्यरूपमा मकै, धान, गहुँ, मसुर, तोरी, उखुखेती हुने गरेको छ। यहाँका अधिकांश मानिसको आयस्तर कम भएकाले रोजगारीका लागि भारत जाने गरेका छन्।