डडेल्धुरा – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा यसपटक पनि डडेल्धुराबाट निर्वाचन लड्ने लगभग तय छ।
डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन लड्नका लागि क्षेत्रीय, जिल्ला र प्रदेश समितिले देउवाको नाम सर्वसम्मत रुपमा केन्द्रलाई सिफरिस गरिसकेका छन्। ०७४ सालमा छैटौं पटक जित हात पारेका देउवा यसपटक कति सुरक्षित छन् भन्नेबारे चर्चा हुन थालेको छ।
०७४ सालको निर्वाचनमा काँग्रेसका अधिकांश शिर्ष नेताहरूले पराजय भोगे। तर काँग्रेस सभापति एवं प्रधानमन्त्री देउवा ०४८ साल देखिको आफ्नो किल्ला जोगाउन सफल भए। देउवाले २८ हजार ४४ मतसहित अपराजित यात्रा कायम राखेर छैटौं पटक जित हात पारे।
उनले माओवादी केन्द्रका खगराज भट्टलाई ६ हजार ९ सय २९ मतान्तरले हराएका थिए। ०४८, ०५१ र ०५६ मा देउवाले देशभरिमै सबैभन्दा बढी मतान्तरमा विजयी हुने नेता बन्ने अवसर पाएका थिए। ०४८ को आम निर्वाचनमा त उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत पाएका थिए। स्थानीय निर्वाचनको अवस्था हेर्दा देउवाको अपराजित यात्रा जारी रहने देखिन्छ। ७ पालिकामध्ये काँग्रेसले ५ पालिकामा प्रमुख र अध्यक्षमा जित हात पारेको छ। ५ पालिकामा उपप्रमुख र उपाध्यक्ष जितेको छ। ५२ वडामध्ये ३३ वडामा काँग्रेस विजयी भएको छ।
१३ वडामा माओवादी केन्द्र, ४ वडामा एमाले र २ वडामा बीपी काँग्रेसले जितेको छ। स्थानीय तहको चुनावमा जिल्लामा काँग्रेसको २१ हजार ७३५, माओवादीको १२ हजार ८७८, एमालेको १० हजार ४४९, नेकपा एकीकृत समाजवादीको ५ हजार ४१, राप्रपा ७१४ र जसपाको १५६ मत रहेको छ। यसमा एमालेसँग गठबन्धन गरेर चुनाव लडेको बीपी काँग्रेसबाट उम्मेदवार बनेका वडा अध्यक्षका उमेदवारले ३ हजार ५४२ मत पाएका छन्।
स्थानीय चुनावको जनमत हेर्दा यो पटक गठबन्धनका कारण देउवाले मतान्तर धेरै फराकिलो बनाउने सम्भावना बढेको डडेल्धुरा काँग्रेसका नेताहरु बताउँछन्। कांग्रेस, माओवादी, नेकपा एस र जसपाले स्थानीय तहमा पाएको मतलाई आधार मान्दा गठबन्धनको मत ३९ हजार ८१० हुन्छ। विपक्ष एमालेको मत १० हजार ४४९ हो। त्यो पनि बीपी कांग्रेससँग गठबन्धन गरेका कारणले बढेको काँग्रेस नेताहरु बताउँछन्।
काँग्रेस डडेल्धुराका उपसभापति तथा अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशीले यसपटकको निर्वाचनमा जित निकाल्न झनै सहज हुने बताए। ‘स्थानीय तह निर्वाचनले नै काँग्रेसलाई जनताले रुचाएको पुष्टि गरिसकेको छ,’ जोशीले भने, ‘५ पालिका र अधिकांश वडामा हाम्रो जित भएको छ। यसपटक हामीलाई निकै सहज हुन्छ। प्रधानमन्त्री ज्यू सेफ हुनुहुन्छ।’
कर्ण मल्लबाट कति जोखिम ?
देउवाकै छत्रछायामा लामो समय राजनीति गरेका डडेल्धुरा काँग्रेसका पूर्वसभापति कर्ण मल्ल कारबाहीमा परेपछि बीपी काँग्रेसमा प्रवेश गरेका छन्। मल्ल अहिले बीपी कांग्रेसको वरिष्ठ उपाध्यक्ष छन्। उनले देउवाविरुद्ध चुनाव लड्ने घोषणा गरिसकेका छन्। विपी कोइरालाको १०९औं जन्मजयन्तीको अवसरमा आयोजना भएको कार्यकर्ता भेलामा उनले प्रतिनिधिसभाका लागि आफ्नो उम्मेद्वारी रहने घोषणा गरेका थिए। ‘हामीलाई जिताउनु भयो भने ३१ वर्षसम्म शेरबहादुर देउवाले नगरेका काम हामी गर्नेछौं। यदि त्यस्तो गर्न सकेनौ भने आगामी दिनमा राजनीति गर्ने छैनौ,’ मल्लले उम्मेदवारी घोषणा गर्दै भनेका थिए। पार्टीको अधिवेशन तथा स्थानीय तहको निर्वाचनमा सभापति देउवाले गरेको अपहेलनाका कारण देउवाविरुद्द विद्रोह गरेको मल्लले बताउँदै आएका छन्। तर देउवा पक्ष भने कर्ण मल्लको प्रभाव जिल्लामा सकिएको दाबी गर्छ। काँग्रेस उपसभापति जोशी मल्ल अलगै पार्टीमा गएपछि काँग्रेसलाई स्थानीय तहमा चुनाव जित्न झनै सहज भएको बताउँछन्। ‘पार्टीभित्र रहेर पटकपटक अन्र्तघात हुँदै आएको थियो,’ उनले भने, ‘अहिले पार्टीबाट बाहिरिएपछि फेस टु फेस प्रतिस्पर्धा भयो। जनमत काँग्रेसको पक्षमा देखियो।’ स्थानीय चुनावको परिणामले नै मल्लले पार्टी छाड्दा काँग्रेसलाई सहज गरेको स्पष्ट भएको उनको भनाइ छ। नेकपा एमालेले भने देउवाविरुद्ध प्रदेशका पूर्वमन्त्री पठानसिंह बोहरालाई टिकट दिने तयारी गरेको छ। एमालेले देउवाविरुद्ध काँग्रेस बीपीसंग चुनावी तालमेल गर्ने चर्चा पनि छ।
डडेल्धुराबाट जित्छु, प्रधानमन्त्री हुनसक्छु : सागर ढकाल
प्रधानमन्त्री शेरबहादुर देउवासँग उनकै गृहजिल्लामा चुनाव लड्न गुल्मीका सागर ढकाल पनि कस्सिएका छन्। उनी अहिले डडेल्धुराका गाउँगाउँमा पुगिरहेका छन्। आफू डडेल्धुरा पुगेर चुनावी तयारीको अभियानमा खटिएको बताउँदै उनले जिल्लामा छलफल र भेटघाट बढाएको बताए।
डडेल्धुराले देशलाई नै सन्देश दिनेगरि आफूले जित्नुपर्ने र जितेर देशको प्रधानमन्त्री समेत हुनसक्ने उनको भनाइ छ। उनले देउवालाई आराम दिन आएको बताउँदै डडेल्धुराबाट चुनाव लड्ने घोषणा गरेका थिए। ‘शेरबहादुरहरूलाई स–सम्मान आराम दिने हो। उहाँहरूले धेरै मेहेनत गर्नुभयो। हाम्रो लागि बोल्ने वातावरण बनाइदिनु भयो,’उनले भन्छन्, ‘बुवा पुस्ता गगन थापा, योगेश भट्टराई, घनस्याम भुसालहरू ढुङ्गामुढा गरेर आउनु भएको हो। उहाँहरू लोकतन्त्रको लागि लड्नुभयो। अब सल्लाह दिने काम गर्नुहुन्छ।’ बीबीसीमा प्रसारण हुने साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न सोधेर ढकाल चर्चामा आएका थिए।