डडेल्धुरा – एकमात्र प्रतिनिधिसभा रहेको डडेल्धुरामा सत्तारुढ गठबन्धनबाट प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चुनाव लड्ने निश्चित नै भइसकेको छ। उनका लागि माओवादी केन्द्र र एकीकृत समाजवादीले सिट खाली राख्ने बताउँदै आएका छन्। तर माओवादी केन्द्रले भने प्रदेशसभाका दुबै र एकीकृत समाजवादीले एउटा सिटमा दाबी गर्दै आएको छ। काँग्रेस डडेल्धुराले भने प्रदेश र प्रतिनिधि सभामा गठबन्धन नगर्न केन्द्रीय समितिलाई आग्रह गरेको छ ।
यद्यपी मंसिर ४ मा प्रधानमन्त्री देउवालाई जिताउन पनि जिल्लामा गठबन्धन हुने चर्चा छ। त्यस्तो अवस्थामा प्रदेश ‘क’ मा माओवादी र प्रदेश ‘ख’ मा नेकपा एकीकृत समाजवादीको भागमा पर्ने सम्भावना बलियो रहेको समाचार स्रोतको दाबी छ ।
गठबन्धनबाट प्रदेश ‘क’ माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टलाई र प्रदेश ‘ख’ मा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा केन्द्रीय बिभाग प्रमुख डा. तारा जोशीलाई चुनावमा उठाउने गरी छलफल अगाडि बढेको बताइएको छ। ‘प्रदेश ‘क’ मा माओवादी नेता भट्टलाई दिने लगभग सहमत भइसकेको छ,’ माओवादीका एक नेताले भने, ‘प्रदेश ‘ख’ मा पनि हाम्रो दाबी हो। तर त्यहाँ डाक्टर तारा जोशीको सम्भावना बढी छ।’
काठमाडौंमा रहेका डा. जोशीलाई गठबन्धनका नेताले विभिन्न प्रस्ताव राखे पनि जोशीले चुनाव लड्ने अडान कायमै राखेका छन्। गठबन्धन नभएपछि भने काँग्रेसबाट जिल्ला सभापति भीमबहादुर साउद र सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा चुनाव लड्ने लगभग तय छ। उनीहरुको नाम जिल्लाबाट एकल रुपमा सिफारिस पनि भइसकेको छ।
डडेल्धुरा काँग्रेसले यसकारण चाहँदैन चुनावमा गठबन्धन नेपाली काँग्रेस जिल्ला कार्य समितिको बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा डडेल्धुरामा गठबन्धन नगर्न केन्द्र र प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको थियो। गठबन्धन गर्ने केन्द्रीय कमिटीको निर्णयलाई स्वागत गर्दै डडेल्धुरामा भने गठबन्धन नभई मित्रवत् प्रतिस्पर्धा गर्न दिन प्रदेश र केन्द्रीय कमिटीलाई अनुरोध गरिएको थियो। ‘डडेल्धुरामा रहेका प्रदेश सभाका दुई सिट र प्रतिनिधि सभाको एक सिटमा काँग्रेस एक्लै लडेर पनि जित्न सक्षम छ,’ काँग्रेस डडेल्धुराका सचिव हेमराज चटौत भन्छन्, ‘जिल्लामा गठबन्धनमा आवद्ध बाहेकका दलले जित्ने सम्भावना नै छैन। त्यसैले गठबन्धन नभई मित्रवत् प्रतिस्पर्धाका लागि प्रदेश र केन्द्रलाई अनुरोध गरेका हौं।’
स्थानीय तह निर्वाचनमा पनि मित्रवत् प्रतिस्पर्धा गर्दा काँग्रेस सातमध्ये पाँच पालिकामा जित्न सफल भएको स्मरण गराउँदै सचिव चटौतले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि जित हासिल हुनेमा कुनै आशंका नरहेको दाबी गरे। ‘डडेल्धुराका मतदाताले ६ पटक प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाज्यूलाई जिताउनुभएको छ,’ भागेश्वर गाउँपालिकाका अध्यक्षसमेत रहेका सचिव चटौतले भने, ‘यसपटक पनि काँग्रेसलाई यहाँका मतदाताले जिताउनेमा शंका छैन। हामी एक्लै लडेर जित्न सक्षम छौं।’ ०७४ सालको निर्वाचनमा डडेल्धुराबाट काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका थिए भने प्रदेशसभा ‘क’बाट एमालेका पठानसिंह बोहरा र ‘ख’बाट काँग्रेसका कर्णबहादुर मल्ल विजयी भएका थिए। अहिले मल्ल काँग्रेस बीपीमा आवद्ध छन्।