काठमाडौं – निर्वाचन आयोगले समानुपातिकको बन्दसूची पेश गर्न दिएको समयावधिभित्र सूची बुझाएको सत्ताको नेतृत्व गरिरहेको कांग्रेसभित्र भाँडभैलो देखिएको छ ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले आफ्ना मान्छेहरुको मात्रै नाम बन्दसूचीमा समावेश गरेको भन्दै संस्थापन इतरसमूहले त्यसको खारेजीको माग गरेका छन् ।
४० प्रतिशत सिट मागेको संस्थापन इतरपक्षलाई जम्मा १२ प्रतिशतमा खुम्च्याइएकोमा इतरपक्षले बन्दसूचीमा पेश गरिएका नामावलीप्रति असन्तुष्टी जनाउँदै खारेजीको माग गरेको हो । अहिलेको बन्दसूचीको खारेजी गर्दै नयाँ आप्mनो पक्षको सम्मानजनक सहभागीता नजनाईकन चुनावमा गए कांग्रेसले ठूलो चुनौतीको सामना गर्नुपर्ने बताएका छन् ।
कांग्रेस नेता गुरुराज घिमिरेले कांग्रेसले पार्टीभित्रैको असन्तुष्टीलाई बेवास्ता गर्दै चुनावमा जान खोज्नु भनेको पराजयको नजिक पुग्नु हो भनेका छन् । बालुवाटारमा बसेर लिस्ट बनाएर जनताले मत दिँदैनन्, पार्टीभित्रका सबैलाई समेट्नुपर्दछ ।
बालृुवाटारमा बसेर राज्यको दोहन गर्ने अधिकार पार्टीका नेतृत्वलाई कसले दियो ? भन्दै नेता घिमिरेले सभापतिलाई प्रश्न गरे । घिमिरेले देशभरका पार्टीका लागि आफू फेरि पनि ‘बलिमा चढ्न’ तयार रहेको बताउँदै भने, ‘म अहिलेसम्म वडा सदस्यसम्म पनि भएको छैन तर अब देश र जनताका लागि फेरि पनि बलिमा चढ्न तयार छु ।’ उनले कांग्रेस नेतृत्वले न्याय दिनसक्दैन भने यसपटकको निर्वाचनमा जनताले पनि न्याय नदिने चेतावनी दिए ।
उक्त अवसरमा नेता घिमिरेले सन् १६९६ को इतिहास सम्झँदै लक्ष्मीनरसिंह र काजी भिम मल्लको घटना सम्झँदै निर्वाचन क्षेत्रमा मेहनत गर्ने, पार्टी संगठन भनेर अहोरात्र खट्ने, नेपाली कांग्रेसलाई शीरमा राख्ने, पार्टीका नेतालाई भगवान् मान्ने, लोकतन्त्रलाई हृदयमा राख्ने जब कार्यकर्तामाथि अन्याय हुन्छ, सच्चा कार्यकर्ताको बध हुन्छ, त्यसपछि नेताहरुले लक्ष्मीनरसिंह मल्लको नियति भोग्नुपर्ने चेतावनीसमेत दिए ।
उक्त अवसरमा घिमिरेले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र जनमोर्चाका चित्रबहादुर केसी वा दुर्गा पौडेललाई प्रश्न गर्दै नेपाली कांग्रेसबाट बढि सिट लिँदैमा निर्वाचन जित्ने ग्यारेन्टी नभएको बतएका छन् ।
बालुवाटारमा बसेर हिसाब मिलाउँदैमा, आफ्नो सन्देश पठाउँदैमा, घन्टौं घन्टा बैठक गर्दैमा मागेको सिट पनि नपाइने र चुनाव पनि जित्न नसकिने बताएका छन् । उनले पार्टीको आन्तरिक आयाम नमिलेसम्म गठबन्धनका अन्य दलहरुले पनि चुनाव नदिने बताए ।
त्यस्तै उक्त कार्यक्रममा कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले गठबन्धन गरेकै भरमा अन्य दलहरुलाई जनताले मत नदिने बताएका छन् । शाहीले गठबन्धन गर्दैमा, गठबन्धन गरेकै भरमा गठबन्धनका उम्मेदवारलाई भोट हालिदिने कसैले ठेक्का नलिएको बताउँदै कांग्रेसका नेताहरुलाई आफ्ना भातृ संगठनको आवश्यकता नभएको समेत बताएका छन् । ‘हाम्रा पार्टीहरुलाई नेविसंघको आवश्यकता छैन, तरुण दलको आवश्यकता छैन, महिला संघको आवश्यकता छैन, किनभने गठबन्धन भएको छ, गठबन्धन भएपछि माओवादीको अखिल क्रान्तिकारी छँदैछ नि किन नेविसंघ चाहियो ? माओवादीको वाईसिइल छँदैछ नि किन तरुण दल चाहियो ?’, नेताहरुप्रति उनले रोश पोखे । उनले नेवि संघ र तरुण दलबिना पार्टीले परिणाम निकाल्न सक्छौं ? भन्दै प्रश्न समेत गरे ।
उक्त अवसरमा कांग्रेस संस्थापन पक्षसँग केन्द्रीय समितिमा मात्र बहुमत रहेको बताउँदै उनले केन्द्रीय सदस्य र सर्वसाधारण जनताको मत पनि एउटा भएको बताउँदै १६७ जनाले मत दिँदैमा कांग्रेसले ४० लाख भोट नल्याउने बताए । ‘केन्द्रीय समितिमा भोट भयो भने उहाँको समूहले जित्ला, तर मत हाल्ने जनताले हो, केन्द्रीय समितिको मतले पुग्दैन, मत हाल्ने जनताले हो,’ भन्दै चेतावनी दिए ।
उक्त अवसरमा संस्थापन पक्ष इतरका जगदीश्वरनरसिंह केसीले पनि संस्थापनले इतर पक्षको माग सम्बोधन नभए कांग्रेसबाहेक अन्यलाई जनताले भोट नहाल्ने बताए । उनले सबै आफ्नै पक्षकालाई मात्र टिकट दिन आग्रह गर्दै आफूहरु पार्टीमै बसेर सहयोग गर्ने समेत बताए । तत्काल संस्थापन पक्षले समानुपातिकको सूची नसच्याए आफूहरुले विकल्प सोच्नुपर्ने भएको समेत केसीले खुलाए ।
बन्दसूचीमा १ सय ९ जनाको नाम समावेश गरिएकोमा संस्थापन इतरबाट जम्मा १३ जनाको नाम समावेश गरिएकोछ । तिनीहरुमा डा। चन्द्रमोहन यादव, प्रतिमा गौतम, लीला बोखिम, टेकप्रसाद गुरुङ, केशरमान रोका, केदारनरसिंह केसी, हस्तबहादुर मल्ल, मैना रावल कार्की, उमा दाहाल, किरण कोइराला, मुख्तबहादुर महतो, नागिना यादव र मुख्ता यादव छन् ।