महेन्द्रनगर – प्रदेश लोकसेवा आयोगले सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ। आयोगका अध्यक्ष यज्ञराज बोहराले वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
आयोगको कार्यसम्पादन सन्तोषजनक रहेको भन्दै प्रदेश प्रमुख देवराज जोशीले आयोगका पदाधिकारी तथा कर्मचारीलाई धन्यवाद दिए। लोकसेवा आयोगका अध्यक्ष बोहराले आयोगले समावेशी र समानुपातिक सिद्धान्तलाई अवलम्बन गरेर अघि बढेको जानकारी दिए।
उनले सुदूरपश्चिम प्रदेश सभा बैठकबाट ‘प्रदेश लोकसेवा आयोग विधेयक २०७६’ पारित भएपछि आयोगलाई काम गर्न सहज भएको बताए।
अध्यक्ष बोहराले आयोगले प्रदेश निजामती सेवाअन्तर्गत स्वास्थ्य सेवातर्फको चौथो तह प्राविधिक पद, प्रदेश सरकारअन्तर्गत रिक्त भएका पदमा स्थायी पदपूर्तिलगायतका परीक्षा पूरा गरेको बताए। प्रतिवेदनमा वन सेवा, जनरल फरेस्ट्री समूह, तहविहीन, वनरक्षक, शिक्षा प्रशासनको प्राविधिक सहायक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा एक वर्षमा पूरा गरेको उल्लेख छ।