काठमाडौं – नेपालमा सुर्तिजन्य पदार्थबाट बनेका चुरोट खैनी लगायतको बट्टा ९० प्रतिशत चेतनामूलक सन्देश र घातक रङ्गिन चित्र छाप्नुपर्ने अनिवार्य भएको छ ।
सरकारले ‘सुर्तीजन्य पदार्थको बट्टा प्याकेट, ¥यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशका २०७१’ र सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०७६ दुवै कानुनमा ९० प्रतिशत भागमा चेतनामूलक र सन्देशमुलक सामग्री राख्ने उल्लेख छ ।
सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०७६ को दफा ९ मा उत्पादकले सुर्तीजन्य पदार्थको बट्टा, ¥यापर्स, प्याकेट तथा पार्सलको प्याकेनिङ र लेबलको बाहिर कूल भागमध्ये कम्तिमा ९० प्रतिशत भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ भन्नेजस्ता व्यहोराको मन्त्रालयले तोके बमोजिम चेतावनीमूलक सन्देश र सुर्तीजन्य पदार्थको सेवनको असरबाट भएको घातक, रङ्गिन चित्र प्रस्ट रुपमा बुझ्ने र देख्नेगरी नेपाली भाषामा छाप्नु तथा अङ्कित गर्नुपर्ने उल्लेख छ ।
निर्देशिकामा दफा ४ मा चुरोटको बट्टा, प्याकेट र ¥यापर्सको मुख्य माथिल्लो भागको अगाडि र पछाडि ९० प्रतिशत चेतनामूलक सन्देश र घातक रङ्गिन चित्र राख्नुपर्ने अनिवार्य व्यवस्था रहेको थियो ।
चुरोटको बट्टा, प्याकेट र ¥यापर्समा मुख्य भागमा ७० प्रतिशत चित्र र २० प्रतिशत चेतनामूलक सन्देश राख्ने निर्देशिकामा उल्लेख गरिएको थियो । तर उत्पादक कम्पनीले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०६८ अनुसार नै बट्टामा ७५ प्रतिशत मात्र चेतनामूलक र घातक रङ्गिन चित्र राखी पछिल्लो निर्देशिका र ऐनअनुसार ९० प्रतिशत चेतनामूलक र घातक चित्र राखेका थिएनन् । सर्वोच्च अदालतले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०७६ र निर्देशिका २०७१ अनुसार ९० प्रतिशत चेतनामूलक र रङ्गिन चित्र कार्यन्वयनमा आउनुपर्ने आदेश दिए पनि अब अनिवार्य रुपमा कार्यन्वयनमा जानुपर्ने भएको छ ।
विसं २०७२ जेठ १ गतेदेखि निर्देशिका र ऐनअनुसार ९० प्रतिशत चेतनामूलक र रङ्गिन चित्र कार्यान्वयनमा आउनुपर्ने उत्पादकले कार्यान्वयन नगरेपछि बाध्य भएर सर्वोच्च अदालतलेमा रिट दायर गर्नुपरेको थियो ।
सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०६८ को दफा ९ मा कूल भागको ७५ प्रतिशत भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ भन्ने चेतनामूलक सन्देश र सुर्तीजन्य पदार्थको सेवनको असरबाट भएको घातक, रङ्गिन चित्र प्रस्ष्ट रुपमा बुझने र लेख्नेगरी नेपाली भाषामा छाप्नुपर्ने उल्लेख छ ।
सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत मात्र चेतनामूलक र घातक चित्र राखेर मानिसमा चुरोट सेवन गर्ने घटेको पाइएको थियो । एक्सन नेपालले गरेको एक अध्ययनले ५५ प्रतिशत चुरोट सेवन गर्नेमा कमी आएको बताइएको छ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्त केसीले चुरोटको बट्टा, प्याकेट र ¥यापर्सको बाहिरी भागमा ९० प्रतिशत चेतनामूलक र घातक चित्र अङ्कित भए मानिसले चुरोट सेवनमा कमी आउने बताए ।
‘विभिन्न अध्ययन अनुसन्धानले पनि जति ठूलो चुरोटमा घातक चित्र भयो । त्यति नै मानिस डराएर सुर्तीजन्य पदार्थको सेवन गर्दैनन् भन्ने पुष्टि भएको छ’, उनले भने, ‘अब हामीले पनि सुर्तिजन्य पदार्थमा ९० प्रतिशत चेतनामूलक र घातक चित्र राख्ने वित्तिकै मानिसले सेवन गर्न छाड्ने छन् ।’
उनले सर्वोच्च अदालतको पूर्ण आदेश आएपछि सुर्तिजन्य पदार्थको उत्पादक कम्पनीलाई पत्र लेखेर चुरोट, खैनी जस्तोको बट्टामा ९० प्रतिशत चेतनामूलक र घातक चित्र राख्ने निर्देशन दिने बताए ।
नेपालमा सुर्तीजन्य सेवनबाट वार्षिक करिव २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ । जुन सङ्ख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो । विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ । जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाखसँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने तथ्याङ्कले देखाएको छ । सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह रोग लाग्ने गर्दछ ।
चुरोट सेवन गर्नेमा बढी हृदयघात
चुरोट पिउने मानिसमा हृदयघात हुने सम्भावना बढी हुने गरेको गंगालाल हृदय राष्ट्रिय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी बताउँछन् । युवामा चुरोट सेवन गर्ने क्रम बढेको पाइन्छ । हृदयघात भएकामध्ये ६५ प्रतिशत चुरोट सेवन गर्नेहरू हुन्छन् । तीमध्ये ४० वर्ष उमेर समूहका व्यक्ति धेरै रहेको उनको भनाइ छ । उनका अनुसार ४० वर्षभन्दा कम उमेरको व्यक्तिले चुरोट सेवन गर्छ भने उसलाई हृदयघात हुने सम्भावना नखानेको तुलनामा आठ गुणाले बढी हुने गर्दछ ।
बरिष्ठ मुटु रोग विशेषज्ञ डा। भगवान कोइराला पनि हृदयघात ६० वर्षमाथिकामा हुने गरे पनि चुरोट खाने व्यक्तिमा भने ४० वर्षमुनि पनि हुने गरेको बताउँछन् । ‘चुरोट सेवन गर्नाले युवावस्थामा नै हृदयघात हुने सङ्ख्या अत्यधिक बढदै गएको छ’, उनले भने ।