काठमाण्डाै – ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुरका विभिन्न सङ्घसंस्थाको सह–आयोजनामा पाटनमा भएको बृहत् सांस्कृतिक मेला सम्पन्न भएको छ ।
पाटन दरबार स्क्वायरमा हिजो भएको सांस्कृतिक मेलामा विभिन्न ७ विद्यालयका एक सय जनाभन्दा धेरै कलाकारहरुले कार्तिक डबली परिसरको मन्दिर तथा खुला क्षेत्र ढाकिने गरे ७ प्रदेशको मौलिक नाच प्रदर्शन गरेका थिए ।
त्यस्तै ज्यापू समाज यल, बौद्ध विहार सङ्घ, नेपाल राष्ट्रिय खड्गी समाज ललितपुरका सय्याैँ कलाकारले नायःखिं, धिमे, धाः लगायतको परम्परागत बाजा तथा नाचको प्रस्तुति दिएका थिए । ललित कार्निभल लक्षित कार्यक्रमका लागि विद्यार्थी एवम् कलाकारहरुलाई ३ महिनाअघिदेखि नै प्रशिक्षण दिएको थियो ।
यस्तै, सांस्कृतिक कार्यक्रम अघि पाटन म्युजियम परिसरमा रहेको मणि केशव नारायण चोकमा योमरी बनाउने, चिउरा कुट्ने, सुकुल बुन्ने, प्याङ्गगाउँको लोपाेन्मुख काठको चिउरा राख्ने भाँडो बनाउने पद्धति लगायतको परम्परागत नेवार जीवनपद्धतिको प्रत्यक्ष प्रस्तुति पनि गरिएको थियो भने हिजो बिहान पर्यटकहरूको स्वागत कार्यक्रमको आयोजना गरिएको थियो ।
त्यस्तै सांस्कृतिक मेलामा ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले महानगरपालिकाको पयर्टनसँग सम्बन्धित वेबसाइटको लोकार्पण गर्नुभएको थियो। कार्यक्रममा उपमेयर मञ्जली शाक्य बज्राचार्य, नेपालमा रुहेका विभिन्न देशका राजदूतहरु, जनप्रतिनिधिहरुको उपस्थिति थियो ।