काठमाडौं – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका पक्षमा राम्रा जसले गरे पनि नेकपा (एमाले)ले समर्थन गर्ने बताए।
काठमाडौं वडा नम्बर ३ स्थित रानीदेवी समूहले आज लाजिम्पाटमा आयोजना गरेको बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राम्रा काम गर्नेको पक्षमा नेकपा (एमाले) उभिने बताउनुभयो ।
‘राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्छ । राम्रा कामलाई राम्रो भन्नुपर्छ, नराम्रो कामलाई नराम्रो भन्नुपर्छ । राम्रा काम जोसुकैले गरुन, त्यसलाई हाम्रा काम बनाउनुपर्छ । सबै हाम्रा राम्रा नहुन सक्छन्, हामीले खोजेको राम्रो काम हो,’ पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका पोखरेलले भन्नुभयो– ‘अहिले विभिन्न साथीहरु विभिन्न रुपले प्रकट हुनुभएको छ । तर, दलीय प्रणालीमा दललाई कमजोर बनाउने कुरा मान्य हुँदैन् । एउटा दल खराब भए फेरी अर्को दल आउँछ ।’
एमसीसी, छिमेकीसँगको सम्बन्ध र नागरिकता विधेयकमा सत्ता गठबन्धनले तमासा गरेको उहाँले बताउनुभयो । ‘प्रधानमन्त्रीले निकालेको किताबमा चुच्चे नक्सा गायब भयो,’ उहाँले भन्नुभयो– ‘हामीसँग दुई वटा ठूला छिमेकी छन्, एउटा छिमेकीलाई नजिक र एउटालाई टाढा गर्न हामीले जरुरी छैन् । तर, छिमेकीसँग आँखामा आँखा जुधाएर कुरा गर्ने सामथ्र्य हाम्रो हुनुपर्छ ।’
जनताको भावना अनुसारकाम गर्न र जनतासँगको सम्बन्धलाई बलियो बनाउन उहाँले जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।आगामी निर्वाचनमा एमालेले विजय हासिल गर्ने उहाँले बताउनुभयो । ‘मंसिर ४ गते एमाले आउँछ । सूर्य चिन्ह आउँछ–आउँछ।’