काठमाण्डाै – दशैँ मनाउन घर फर्कनेहरुको भिड आजदेखि झन् बढेको छ । सरकारी कार्यालय र स्कुल क्याम्पस आजदेखि बन्द भएपछि घर फर्कनेको चहलपहल बढेको हो । केही स्कुल घटस्थापनादेखि बिदा भए पनि धेरै स्कुल, क्याम्पस र कार्यालय भने हिजो शुक्रवारसम्म सञ्चालन भएका थिए ।
आज शनिवार र भोलि फूलपाती भएकाले अत्यावश्यकबाहेकका कार्यालय र सेवा आजदेखि बन्द भएका छन् । आज र भोलि गाडीमा झन् धेरै भिड हुने भएकाले सुरक्षित यात्राको लागि ध्यान दिन प्रहरीले आग्रह गरेको छ ।
प्रहरीले छतमा नचढ्न, गाडीमा नझुन्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्यसतर्फ आफैँ सचेत रहन सबै यात्रुसँग आग्रह गरेको छ । यस्तै गाडीकाे चाप र भिडभाडका कारण हुनसक्ने चोरी र पाकेटमार नियन्त्रण, क्षमताभन्दा बढी चढाउने गाडीलाई कारबाही गर्न सादा पोसाकमा पनि प्रहरी खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तोकिएकोभन्दा बढी भाडा नलिन र ट्राफिक नियमको पालना गर्न प्रहरीले यातायात व्यवसायीसँग आग्रह गरेको छ ।
काठमाण्डौ उपत्यकामा रहेका यात्रु सहायता कक्षसँगै ठाउँठाउँमा भाडासूची पनि राखिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालका अनुसार नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष राखिएको छ । अघिल्लो दुई वर्षमा कोरोनालगायत कारणले दशैँका बेला घरगाउँ फर्कनेको सङ्ख्या कम थियो । यसपालि भने वैदेशिक रोजगारीमा रहेकाहरुसमेत दशैँ मनाउन गाउँघर फर्किँदैछन् ।
दशैँमा मानिसहरु बाहिरिने भएकाले काठमाण्डाै उपत्यकामा भिडभाड कम हुने भएकाले मानिसको चाप कम भए पनि चोरी लगायतका घटना हुन सक्ने भएकाले सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रहरीले जनाएको छ ।
मोबाइल गस्ती, पैदल गस्ती, पिकेट, क्यूआरटी, सादा पोसाकका प्रहरीको परिचालन, सीआरभी, सीसीटीभी निगरानी, कट एन्ड सर्च, एम्बुस, रिजर्भ, नियमित चेक प्वाइन्ट ड्यूटी, मापसे चेकिङमा प्रहरी खटाइने छ।