मौसम बदली सँगै भइरहेको निरन्तर वर्षापछि दार्चुलाको उत्तरी क्षेत्र व्यास गाउँपालिका–१ छाङ्गरु र तिंकरमा हिमपात सुरु भएको छ । छाङ्गरु र तिंकरका गाउँहरुमा शनिवार बिहानैदेखि हिउँ पर्न सुरु भएको त्यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मले जनाएको छ ।
गुल्मपती ईश्वर दत्त भट्टका अनुसार चीन सीमा नजिकको गाउँ तिंकरमा हिउँ जमेको तथा छाङ्गरु गाउँका डाडाकाँडामा हिमपात भएको हो । हिमपात भएपछि त्याहाको जनजीवन कष्टकर बनेको सशस्त्र प्रहरीले जनाएको छ । तिंकर र छाङ्गरुमा हिमपात भएपछि सदरमुकाम खलंगा लगायतका स्थानमा चिसो बढेको छ भने वर्षा निरन्तर भइरहेको छ । लगातारको पानीका कारण यहाँका नागरिकहरुले दैनिक काम काज ठप्प भएका बताएका छन् ।
पानीका कारण खेतमा भित्राउन तयार भएको धान भित्राउन नपाएको र खरफागलामा काटेको खर कुहिन थालेको किसानहरुको दुखेसो छ । पानीले काटेको खर कुहिन थालेपछि यहाँका नागरिकहरु चिन्तीत भएका छन् ।
कुनै ठाउँका किसान काटेको खर कुहिन थालेपछि चिन्तीत छन भने कुनै ठाउँका किसानले खर काट्न नपाउँदा समसय भएको बताएका छन् । यस्तै पानीकै कारण ग्रामीण क्षेत्रको सञ्चार सम्पर्कविच्छेद भएको छ ।