धनगढी: सुदूरपश्चिम प्रदेशमा वृत्ति विकासको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका लेखा समूहका कर्मचारीहरुले मुख्यमन्त्री, मन्त्रीहरु र प्रदेश सभा सदस्यहरुको तलबभत्ता समेत रोक्ने भएका छन्।
आइतबार सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत कार्यरत लेखा समूहका कर्मचारीको बैठकले वृत्ति विकासको मुुद्दामा सरकार गम्भीर नबनेको निष्कर्ष निकाल्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेका छन्।
जसअनुसार २५ पुसदेखि लेखाका सबै काम रोकेर पेन डाउन गरेर लेखाका कार्यालयमा धर्ना दिने र आवश्यकताअनुसार आर्थिक मामिला मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिनेछन्। उनीहरुले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र प्रदेश सभा सदस्यहरुले आफूहरुमाथि अन्याय गरेका भन्दै तलबभत्ता रोक्ने निर्णय पनि गरेको बताएका छन्।
आन्दोलनका कार्यक्रम अन्तरगत लेखा समूहका सबै तहका कर्मचारीको वृत्ति विकास सुनिश्चित हुनेगरि यशाशिघ्र ओएनएम गरिनुपर्ने, प्रदेश लोकसेवा आयोगले प्रत्रिया अघि बढाउनेगरि सरोकारवालाको ध्यानाकर्षण गराउने, कर्मचारी समोजन ऐन २०७५ अनुसार प्रदेशमा समायोजन भएका बखत कायम पदमा मनोबल कमजोर नहुनेगरि प्रोत्साहन गर्ने र पदनाम गर्ने विषयमा समेत ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
यस्तै, २२ पुसदेखि २४ गतेसम्म प्रदेशका ९ वटै जिल्लाका प्रदेश लेखा कार्यालयमा लेखाका सबै कर्मचारी जम्मा भएर छलफल गर्ने निर्णय पनि भएको छ।