धनगढी: शनिबारसम्म सत्ता गठबन्धनको सुदूरपश्चिम प्रदेशका संघतर्फका १६ मध्ये ९ र प्रदेशतर्फका ३२ मध्ये १३ सिट नेपाली काँग्रेसले पाउने टुङ्गो लागेको विवरण सार्वजनिक भएको छ। २०७४ को चुनावमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एक मात्र निर्वाचन क्षेत्रमा जितेको नेपाली काँग्रेसले यो पटक अधिकतम ९ क्षेत्रमा प्रत्यक्ष जित हासिल गर्न नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादीसहितको सत्ता गठबन्धनको सहयोग पाउने भएको छ।
यस्तै प्रदेशतर्फ प्रत्यक्षमा नेपाली काँग्रेसले २०७४ मा केवल ४ स्थानमा जित हासिल गरेको थियो। तर यसपटक भने १३ भन्दा बढी स्थानमा काँग्रेसले उम्मेदवार उठाउने र जित्ने योजना बुनेको छ। तर राजनीतिक विश्लेषकहरूले भने कार्यकर्ता र मतदाताको भावना विपरित गठबन्धनमा नेपाली काँग्रेस लाग्नु सत्ताप्रतिको उसको आशक्ति बलियो छ भन्ने स्वत: थाहा हुने राजनीतिक विश्लेषक डाक्टर केदारचन्द्र भट्ट बताउँछन्।
“नेपाली काँग्रेसले आफ्नो इतिहास बिर्सेको कारण र उसमा सत्तामा बसिरहने प्रवृत्ति विकास भएका कारण गठबन्धन गर्नुपरेको सहजै अनुमान लगाउन सकिन्छ,” उनले भने, “काँग्रेस बिपीको चिन्तनबाट बाहिर गएकाले, सत्ता, शक्ति स्रोतसाधन र प्रहरी प्रशासनको परिचालन गर्ने बानी परेकाले सरकारमा रहिरहन गठबन्धनको साहारा लिन परेको हो।”
नेपाली काँग्रेसले गठबन्धन नगरेरै चुनाव लडेको भए सुदूरपश्चिम प्रदेशबाट संघ र प्रदेशमा सबैभन्दा ठुलो दल हुने सम्भावना रहेको धेरैले अनुमान लगाउने गरेका छन्। सुदूरपश्चिमका मतदाताको विगतका चुनावमा मुखरित भएको मत हेर्दा यो पटक प्रजातान्त्रिक विचार बोक्ने नेपाली काँग्रेसको पक्षमा परिणाम आउने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन्।
तर गठबन्धन गरेर हुने निर्वाचनमा नेपाली काँग्रेसको स्थिति के हुन्छ भनेर अहिले नै एकिन गर्न सकिने अवस्था भने नरहेको राजनीति शास्त्रका प्राध्यापक सुरेन्द्र चन्दले बताए। “गठबन्धनको संस्कृति बिकास गर्न खोजेकोआ छन् दलहरूले जुन लोकतन्त्रका लागि त ठीक होइन,” उनले भने,”गठबन्धनको नतिजा के आउँछ भन्ने त अहिले नै भन्न सकिने अवस्था छैन।”
नेपाली काँग्रेस पूरानो र सबै किसिमका आन्दोलनको नेतृत्व गरेको पार्टीले सत्तामा जानकै लागि गठबन्धन गरेर चुनाव लड्नु भनेको अरू पार्टीको बलमा चुनाव जित्न लालयित हुनु गलत भएको विश्लेषण गरिएको छ। गठबन्धनको नयाँ संस्कृति विकास गर्न खोजिए पनि यसले मतदाता तथा पार्टीका नेता, कार्यकर्ताको अवमुल्यन गर्न खोजिएको बताइएको छ।
सत्ता गठबन्धनले सुदूरपश्चिममा डडेल्धुरा, बाजुरा, दार्चुला, अछाम क्षेत्र नम्बर २, कञ्चनपुर क्षेत्र नम्बर २ र ३, कैलालीको १, ४ र ५ मा नेपाली काँग्रेले उम्मेदवारी उठाउने टुङ्गो लगाएको छ। यस्तै प्रदेश सभाका लागि नेपाली काँग्रेसले १३ स्थानमा उम्मेदवारी दिने टुङ्गो लागेको छ भने थप स्थानसमेत काँग्रेसले पाउन सक्ने सम्भावना छ।-दिनेसखबर