पोखरा – नवौं राष्ट्रिय खेलकुदका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद्ले ल्याएको नयाँ ट्रफी गण्डकी प्रदेश आइपुगेको छ ।
विभिन्न ६ प्रदेश र विभन्न ३ वटा विभागीय समूहको मुख्यालयमा प्रदर्शनपछि ट्रफी प्रतियोगिता आयोजनास्थल गण्डकी प्रदेश आइपुगेको हो।
गण्डकीमा ट्रफीलाई मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले सार्वजनिक गरेका छन् । सुन र चाँदीजडित ट्रफीको मूल्य १० लाख रुपैयाँ रहेको आयोजक राखेपले जनाएको छ ।
गण्डकीमा भने प्रतियोगिता अवधिभर ट्रफी प्रदर्शनका लागि राखिनेछ । ट्रफी सार्वजनिक गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकीले ट्रफी प्रदर्शन गर्न पाउनु गौरवको विषय रहेको सुनाए ।
मुख्यमन्त्री पोखरेलले ट्रफी प्रदर्शनमात्रै नभएर गण्डकी त्यसको हकदारसमेत रहेको दाबी गरे । गण्डकीमा हुन लागेको करिब ४ दशकपछि दोस्रो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता भइरहेको हो । यसअघि २०४० सालमा पहिलोपटक दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो ।
औपचारिक रुपमा असोज २८ गतेदेखि प्रतियोगिता सुरु हुने भए पनि पुरुष प्रतियोगिता एक महिना अगाडि नै काठमाडौंमा भइसकेको छ । आइतबारदेखि पोखरामा महिला क्रिकेट सुरु भएको छ ।