धनगढी – कैलालीको गोदावरी नगरपालिका-१ भरतपुरस्थित उग्रतारा सुधार केन्द्रमा रहेका एक युवकको मृत्यु भएको छ। मंगलबार बिहान डोटीको दिपायल सिलगढी नगरपालिका-४ पिपल्लाका ३६ वर्षीय छत्र शाहीको मृत्यु भएको प्रहरीले बताएको हो।
प्रहरीका अनुसार यही असोज २२ गतेदेखि उक्त सुधार केन्द्रमा रहेका उनी आज बिहान एक्कासी बिरामी हुँदा सेती प्रादेशिक अस्पताल लगिएको थियो। बिहान ८ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
तर मृतक शाहीका आफन्तले भने सुधार केन्द्रका सञ्चालक र कर्मचारीले उनका हात खुट्टा बाँधेर कुटपिट गरी हत्या गरेको आरोप लगाएका छन्। उनका आफन्तले प्रहरीमा सुधार केन्द्रका सञ्चालक र कर्मचारीविरुद्ध किटानी जाहेरी दिने बताएका छन्।
Facebook Comments Box