काठमाडौं – प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहरा सरुवा भएर जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुखका रुपमा आएसंगै काठमाडौंमा अपराधिक क्रियाकलापहरु बढेका छन ।
काठमाडौं प्रहरीको फितलो कमाण्डले संगठन प्रमुखलाई समेत चुनौती बढेको छ । यसरी काठमाडौं जस्तो ठाउँमा अपराध बढिरहने र प्रहरी मौन बस्ने हो भने सर्वसाधारणले कसरी आफ्नो रक्षा गर्ने ?
यसअघिका हाकिमहरुले २४ सै घण्टा ठाउँ–ठाउँमा प्रहरी परिचालन गर्दै गस्ती गरिरहन्थ्यो । सुरक्षाको अनुभूति मिल्थ्यो । चोक–चोकमा प्रहरी परिचालन हुन्थ्यो । तर, काठमाडौं प्रमुख एसएसपी बोहरा सुन्य जस्तै छन ।
बल्खु, कलंकी, न्यूरोड, दरबारमार्ग, ठमेल आसपासमा अवैध तरिकाले हुन्डीको कारोबार भइरहेको सूचना प्रहरीसम्म पुग्छ । तर, काठमाडौं प्रहरीले थाहा पाए पनि नपाएको जस्तो गर्दै टार्ने गरेको आरोप छ ।
त्यस्तै गोगंबु, नयाँबसपार्क र रत्नपार्कतिर अवैध रुपमा यौनको व्यापार हुँदा प्रहरी निरिह बनेको छ । गोगंबुजस्तो अति व्यस्त ठाउँमा दिनहुँ सयौंको संख्यामा चोरी, लुटपाट हुने गर्छ । जहाँ प्रहरी नभएर चोरी तथा लुटपाटको घटना बढेको हो ।
चोरले चोरी सकेर भागेपछि प्रहरीले पक्राउ त गर्छ । तर, चोरी हुनुअघि नै ठाउँ–ठाउँमा किन प्रहरी परिचालन हुँदैन ? काठमाडौंमा पछिल्लो समय अपराधको घटनाहरु बढ्दो छ । ३ असोजमा काठमाडौंको गोठाटारमा गोली प्रहारबाट सर्लाही सिसौरिया– ६ का ५८ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीको हत्या भयो । जुन घटनाले नेपाल प्रहरीको कार्यशैलीमाथि गम्भीर प्रश्नचिन्ह खडा भयो ।
हतियारसहित नेपाल प्रवेश गरी गोली हानेर भाग्दा पनि प्रशासनले गतिलो सुरक्षा व्यवस्था गर्न नसक्नुमा आशंका उब्जनु स्वभाविक हो । सोहीकारण पछिल्लो समय काठमाडौंको शान्तिसुरक्षा फितलो भएको गुनासो धेरै आउने गरेको छ ।
घटनास्थल र प्रहरी कार्यालय नजिकै रहेपनि गोली प्रहारबाट कुनै नागरिकको हत्या हुन्छ भने त्यसको अपजस प्रहरीलाई स्वतः जान्छ ।
काठमाडौंमा अपराधीहरु झनै सक्रिय भएको बुझ्न सकिन्छ । गुण्डागर्दी, बलात्कार, हत्या, लुटपाट, ठगीजस्ता अपराधहरु बढिरहँदा प्रहरी भने मौन रहेको छ ।