चितवन – चितवन प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित तीन जना भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ।
वीरगन्जबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कारमा ठूलो परिमाणमा लागुऔषध भेटिएपछि चालकसहित चार जनालाई नियन्त्रणमा लिइएको एसपी नवराज अधिकारीले जानकारी दिए।
एसपी अधिकारीकाअनुसार भारतीय नम्बर प्लेटको कारमा लागुऔषध ओसारपोसार भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टको कमान्डमा खटिएको प्रहरी टोलीले निगरानी बढाएको थियो।
शुक्रबार विहान भरतपुर–१० स्थित बसपार्क चोकमा डिएल ७ सिएम १५७६ नम्बरको भारतीय कारमा खानतलासी गर्दा एक हजार एम्पुल डाइजापाम, एक हजार एम्पुल व्युप्रोनर्फिन, एक हजार एम्पुल फेनारगन र ५२ ग्राम १४० मिलिग्राम खैरो हेरोइन भेटिएको अधिकारीले बताए।
कारका विभिन्न भागमा फल्स बटम (गोप्य डिब्बा) बनाएर लागुऔषध ओसारपोसार गरेको अवस्थामा भेटिएपछि तीन जना भारतीय र एक जना नेपाली महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए। उनीहरूले कारको अगाडि, पछाडि, डिकीको भागमा फल्स बटम बनाएर लागुऔषध लुकाएका थिए।
भारतको बिहार राज्य पूर्वी चम्पारण जिल्ला रघुनाथपुर ग्राम पञ्चायत रामगढवा पचौरीटोल बस्ने ३८ वर्षीय सुनिल कुमार, पूर्वी चम्पारण जिल्ला वार्ड नम्बर २५ पंकजचौक रक्सौल बस्ने १९ वर्षीय विकास कुमार, पूर्वी चम्पारण जिल्ला रघुनाथपुर ग्राम पञ्चायत रामगढवा पचौरीटोल बस्ने ५० वर्षीय राजन ठाकुर र बाराको गढीमाई नगरपालिका–१९ बस्ने ३५ वर्षीया प्रतिमा मण्डललाई लागुऔषधिसहित नियन्त्रणमा लिइएको डिएसपी पण्डितले बताए।
उनीहरू सवार गाडी र चार थान मोबाइल पनि बरामद गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।